‘पत्रकारितामा अभाव, दबाब र प्रभावरहित हुन आवश्यक ’

बैशाख २१, काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाले विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।

शाखाले आफ्नै कार्यालय परिसरमा उपत्यकामा रहेका पत्रकारहरुवीच शुभकामना आदानप्रदान गरी मनाईयो । विश्व प्रेस स्वतन्त्रता दिवस अर्थात् मे ३ मा हरेक वर्ष पत्रकार महासंघ, सञ्चारसंग सम्बन्धित संघसंस्था तथा संगठनले विभिन्न कार्यक्रम गरी मनाईन्थ्यो । तर यस पटक भने ( कोभिड १९ ) कोरोना भाइरसका कारण प्रभावमा परेको छ । सञ्चार क्षेत्रमा आवद्ध सञ्चारकर्मी तथा सञ्चारगृहको सुरक्षा र श्रमजीवी पत्रकारहरुको सामाजिक सुरक्षाको विषय लगायत आत्मसम्मानको आवाज बुलन्द पार्न सरकार र सम्बन्धित पक्षसंग अपिल गर्दै आएको महासंघले यस पटक भने शारिरिक दूरी काय राख्दै शुभकामना साटासाट गरेका छन् ।

यसैबीच विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शाखाले करीब १०० जना पत्रकारलाई राहत वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा जीविकोपार्जन गर्न कठिन भएका आफ्ना सदस्य पत्रकारलाई चामल, दाल, नून, तेललगायत खाद्य सामग्री प्रदान गरेको हो ।

काठमाडौँ शाखाका अध्यक्ष शन्तराम विंडारीले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक र पारदर्शी बनाएर समाजमा सत्यतथ्य सूचना प्रवाहमा आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै अभाव, दबाब र प्रभाव बिनाको पत्रकारिताको खाँचो औल्याए । उनका अनुसार स्थानीय तहले वितरण गरेको राहतमा पत्रकारको प्रत्यक्ष पहुँच नभएकाले काठमाडौँ शाखाले खाद्य सामग्री सङ्कलन गरी आफ्ना सदस्यलाई वितरण गरेको छ ।

उपत्यका प्रदेश समिति सचिव विष्णु आचार्य, शाखाका पूर्वसभापति ईश्वरी वाग्ले, पत्रकार चक्रपाणि नेपाल, भावना विद्रोही, केबी सम्राट, फणीन्द्र फुयाँल, कृष्ण लेकाली, कालिका महत लगायतले कोभिड–१९ का कारण विश्व अर्थतन्त्र सङ्कुचन भई नकारात्मक प्रभाव पर्ने हुँदा पत्रकारिता क्षेत्रले सामाजिक रुपान्तरणका लागि कलम चलाउनुपर्ने विचार व्यक्त गरे । शाखाका उपाध्यक्ष सूर्य सुवेदीले दुःख पाएका सबै नागरिकलाई मानवीयताका आधारमा राहत सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

यसैबीच ट्राइकोट इन्डस्ट्री प्रालिका प्रतिनिधि रवि पौडेलले पाँच थान व्यक्तिगत सुरक्षा सामग्री उक्त शाखालाई हस्तान्तरण गरेका छन् । दैनिक घटनाक्रमको समाचार सङ्कलनमा क्रियाशील रहने शाखाका १५ सदस्यलाई ‘कोरोना बीमा’ समेत गरिने जनाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.