बैशाख १६, चितवन । भरतपुरको विषेश कोरोना अस्पतालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ।
आयोगको हेटौंडा कार्यालयबाट गएको टोलीले मंगलबार दिउँसो अस्पतालमा छापा मारेको हो। अख्तियार प्रवक्ता प्रदीप कोइरालाले भने अनुसन्धानको सिलसिलमा भएगरेका कामकारबाहीबारे अहिले भन्न नमिल्ने बताए। यसअघि अस्पतालका कर्मचारीहरूले विभिन्न सामग्रीहरू चोरी गरेको भिडिओ फुटेज बाहिरिएको थियो। अस्पतालको स्टोरबाट चप्पल, मास्क, सेनिटाइजरलगायत सामग्री चोरी भएपछि भरतपुर महानगरपालिकाले छानबिन समिति बनाएको छ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु पौडेलको संयोजकत्वमा महानगर र अस्पतालका एक/एक जना सदस्य रहने गरी तीन सदस्यीय समिति गठन भएको हो। कोरोना अस्पतालको स्टोरमा रहेका सामान कर्मचारीले रातको समयमा लगेको सिसिक्यामेरा भिडिओ सञ्चारमाध्यमबाट बाहिरिएपछि छानबिन गर्न समिति गठन गरिएको हो।
अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरका स्वास्थ्य शाखा अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामग्री लगेको सार्वजनिक उक्त भिडिओमा देखिन्छ।
उनीहरूले चप्पल, सेनिटाइजर, मास्कलगायत अरू के-के सामान स्टोरबाट लगे र ती सामान कहाँ बिक्री गरे भन्ने खुलेको छैन।

