बैशाख १६, काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका १३ वटै जिल्लामा प्रदेश सरकार अन्तर्गत विकास निर्माणका काम धमाधम सञ्चालन भइरहेको बताएका छन् ।
त्रिभुवन राजपथको वैकल्पिक मार्गको रूपमा प्रदेश सरकारले निर्माण गर्दै गरेको सडक खण्डको अनुगमनका क्रममा कुरा गर्दै मन्त्री फुँयालले मन्त्रालयले लकडाउनलाई अवरोधरहित विकास निर्माणका अवसरका रूपमा प्रयोग गरिरहेको बताए । लकडाउनका कारण युद्धस्तरमा काम गर्न नपाए पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको मन्त्री फुँयालको भनाइ छ । वर्षायाम शुरु भएसँगै बाढी आउन सक्ने र धेरै काम भइसकेका योजनामा क्षति पुग्न सक्ने भएकाले सडक, ड्याम, पुल, पुलेसालगायत आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइने उनले बताए ।
निर्माणाधीन आयोजनाको प्राविधिकसहित टोलीले निरन्तर अनुगमन र निरीक्षण भइरहेको बताउँदै मन्त्री फुँयालले आफूसमेत बारम्बार अनुगमनमा निस्कने गरेको उल्लेख गरे । कतिपय आयोजनाको निरीक्षण र अनुगमनमा मुख्यमन्त्रीसमेत जाने गरेको उनले जानकारी दिए । उनले लकडाउनका कारण बाहिरबाट आएका अधिकांश श्रमिक घर गएको भए पनि स्थानीय श्रमिकले अवसर पाएको बताए ।
सो अवसरमा मन्त्रालयका यातायात पूर्वाधार निर्देशनालयका प्रमुख सहदेव भण्डारीले लकडाउनले विकास निर्माणका काममा समस्या पारे पनि आयोजनाको कामलाई निरन्तरता दिइएको बताए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर आवश्यक सामग्रीको आपूर्ति गर्नुका साथै अन्य जटिलता चिरेर काम भइरहेको उनले जानकारी दिए । त्यस्तै पूर्वाधार विकास कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले हेटौँडाको राप्ती तटमा निर्माणधीन सडक तथा ड्यामको ‘लञ्चिङ’ को काम बर्खाअघि कुनै पनि हालतमा सक्नुपर्ने भएकाले काम सञ्चालन गरिएको बताए ।–रासस

