कारागारमा क्षमताभन्दा बढी कैदी रहेको आयोगको ठहर

बैशख १६, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले केन्द्रीय कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको अनुगमनबाट थाहा भएको जनाएको छ । आयोगका सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा एक हजार २५० जनाको क्षमता रहेकोमा तीन हजार १६४ कैदीबन्दी रहेकाले खानेपानी, शौचालय तथा सरसफाइ र सामाजिक दूरी कायम गर्न समस्या देखिएको उल्लेख छ ।

कोरोना भाइरस सङ्क्रमणको स्थितिमा हिरासत तथा कारागारमा रहेका थुनुवा, कैदीबन्दीको मानव अधिकारको अवस्था सम्बन्धमा आयोगले अनुगमन गरेको छ । आयोगका सदस्य सुदीप पाठकसहितको टोलीले काठमाडौं र ललितपुरका केही हिरासतका साथै केन्द्रीय कारागारको अनुगमन गरेको हो । कोरोना रोकथामका लागि हिरासत कक्षमा सरसफाइ, थुनुवाको स्वास्थ्य परीक्षण, साबुन पानीको व्यवस्था र मुद्दा प्रक्रियामा सचेतना अपनाइएकोे भएता पनि अनुगमनका क्रममा कारागार व्यवस्था विभागका महानिर्देशक तथा केन्द्रीय कारागार प्रमुखसँग छलफल भएको आयोगले जनाएको छ ।

छलफलको क्रममा हालसम्म कैदीबन्दीमा सङ्क्रमित रोग नदेखिएको भएता पनि देशभरी ७२ वटा कारागार रहेकोमा अधिकांश कारागार जीर्ण अवस्थामा रहेको, क्षमताभन्दा बढी कैदीबन्दी रहेकोले कहीँ कतैबाट रोगको सङ्क्रमण हुन गएमा कारागारभित्रको स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा सचेत हुनु पर्ने आयोगले ठहर गरेको छ ।

त्यसैगरी, विदेशमा रहेका केही नेपाली कामदारले कोभिड–१९ को कारण तलब नपाउँदा खान बस्न समस्या भएको, उनीहरु सङ्क्रमणको जोखिममा रहेको, तालीम तथा अध्ययनका क्रममा बङ्गलादेश, कतारलगायत विश्वका विभिन्न मुलुकमा रहेका विद्यार्थीको खर्च अभावले अलपत्र र अप्ठ्यारोमा परेको भनी आयोगमा फोन, इमेलबाट उजुरी तथा सञ्चार माध्यमबाट जानकारी प्राप्त हुन आएको विज्ञप्तिमा उल्लेख छ । अहिलेको जटिल परिस्थितिलाई मानव अधिकारमैत्री तवरले समाधान गर्न आयोगले सरकार, परराष्ट्र, स्वास्थ्य, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीसँग छलफल गरी ध्यानाकर्षण गराएको जनाएको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.