बैशाख १५, मस्को । रुसमा दुई हजार ९० सिपाही र सैन्य कर्मचारीहरुलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
मार्चदेखि २६ अप्रिलसम्म ८७४ सैनिकलाई कोरोना संक्रमण भएको रुसी रक्षा मन्त्रालयले आइतबार जानकारी गराएको हो । संक्रमित देखिएकामध्ये अधिकांशलाई उनीहरुको घरमा आइसेलेट गरिएको छ भने केहीलाई सैन्य अस्पतालमा उपचार भइरहेको बताइएको छ । मिलिटरी एकेडेमी र विद्यालयका ९७१ क्याडेटला र २४१ सैन्य कर्मचारीलाई कोरोना संक्रमण भएको बताइएको छ । कोरोना पोजेटिभ देखिएका अधिकांशलाई कोरोना लक्षण देखिएको छैन तर, संक्रमण भएको पाइएको छ ।
९ मे को विजय उत्सवको प्यारेडमा भाग लिने सैनिकलाई कोरोना देखिएको बताइएको थियो । गत साता कोरोना भाइरस नियन्त्रण गर्न नसकेको र आवश्यक सावधानी अपनाउन असफल भएको भन्दै किरोभ मिलिटरी मेडिक एकेडेमी मस्कोको प्रमुखलाई बर्खास्त गरिएको थियो ।–सीएनएन

