नेकपाभित्रको विवाद उत्कर्षमाः नेपाल पक्षधरलाई फकाउने ओली पक्षको अन्तिम प्रयास

बैशाख १५, काठमाडौं। सरकारले एक हप्ता अगाडि जारी गरेका दुई वटा अध्यादेशपछि विवादमा परेका प्रधानमन्त्री केपी ओली आफू विरुद्ध पार्टीमा मोर्चाबन्दी बलियो भएपछि वरिष्ठ नेता माधव नेपाललाई आफ्नो पक्षमा ल्याउन आज (सोमबार) दिनभर प्रयासरत छन्।

सोमबार विहान वरिष्ठ नेता माधव नेपालसँग बालुवाटारमा एक्ला एक्लै छलफल गरेका प्रधानमन्त्री ओलीले दिउँसो आफ्ना निकटका नेतालाई नेतासँग छलफल गर्न नेपाल निवास कोटेश्वरमा पठाएका छन्। ओलीले आफू निकट ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली र शंकर पोखरेललाई नेपाल पक्षसँग छलफल गर्न खटाएका छन्। उता नेपाल पक्षबाट नेपाल स्वयं, भीम रावल, रघुजी पन्तलगायतका नेता छलफलमा रहेको स्रोतले जनाएको छ।

पछिल्लो समय नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। प्रचण्ड र नेपाल पक्षधरले प्रधानमन्त्री ओलीलाई नै हटाउने गरी तयारी गरिरहेको भन्दै प्रधानमन्त्री ओली पक्षधरले पूर्व एमाले पक्षधरलाई आफ्नो पक्षमा पार्ने कोशिश गरिरहेको छ।

त्यसका लागि नेपाल पक्षलाई सम्मान स्थान दिएर भएपनि मनाउने प्रयास गरिरहेको छ। सोमबार विहान बालुवाटारमा ओली र नेपालबीचको छलफलमा के भयो भन्ने विषयमा सार्वजनिक नभएपनि नेता नेपालले साथीहरुसँग छलफल गर्छु भनेर बाहिरिएका थिए। त्यसपछि ओलीले आफू पक्षधर नेतालाई नेपालसँग छलफल गर्न कोटेश्वर पठाएका थिए।

२० जना स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक बोलाउन लिखित रुपमा माग गरेपछि ओली अप्ठेरोमा परेका हुन्। ओली पक्षधर स्थायी कमिटी बैठक बस्नु अघि नै आफू सुरक्षित हुने गरी सहमति गर्न चाहन्छन्। त्यसका लागि माधव नेपाल पक्षधरलाई फकाउने अन्तिम प्रयास गरिरहेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.