बैशाख १३, एजेन्सी । एक समय थियो जहाँ भारतीय क्रिकेट सचिन तेन्दुलकरको नामले प्रख्यात थियो । यदि भारतको खेल भए मैदानमा सचिनको नामले गुञ्जयमान हुन्थ्यो । भारतले खेलेका हरेक खेलमा सचिनको उत्कृष्ट प्रदर्शन हुन्थ्यो । सचिनको आज जन्मदिन हो । सचिनको जन्मदिनको अवसर पारेर हामी तपाईंहरूलाई उनले विश्व क्रिकेटमा बनाएका पाँच उत्कृष्ट पारीको सम्झना गराउने छौं ।
सारजहाँमा भीषण हावाबीच उत्कृष्ट पारी
सारजहाँ क्रिकेट मैदानमा २२ अप्रिल १९९८ मा सचिनले कोकाकोला कपअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलमा १३१ बल खेल्दै ९ चौका र ५ छक्काको सहयोगमा १४३ रनको उत्कृष्ट पारी खेलेका थिए । उनको उत्कृष्ट प्रदर्शनका बाबजुत पनि भारतीय टोलीले हार बेहोरेको थियो । तर पनि भारत यो खेलको फाइनलमा पुग्यो ।
जन्मदिनको दिन शतक
२४ अप्रिल १९९८ मा आफ्नो २५औं जन्म दिनका अवसरमा अस्ट्रेलियाविरुद्धको खेलमा सारजहाँमा सचिनले फाइनलमा १३४ रनको यादगार शतकीय पारी खेले । उनले यस शतकमा १२ चौका र तीन छक्का प्रहार गरेका थिए । सचिनलाई उक्त खेलमा ‘म्यान अफ दी म्याच’ र प्रतियोगितामा ‘प्लेअर आफ दी टुर्नामेन’ पनि घोषित गरिएको थियो ।
२००३ को विश्वकपमा पाकिस्तानविरुद्ध उत्कृष्ट पारी
सन् २००३ को विश्वकपमा सचिन तेन्दुलकरले पाकिस्तानविरुद्ध उत्कृष्ट पारी खेले । उनले ७५ बलमा १२ चौकाको सहयोगमा ९८ रन बनाएका थिए । उनको यो उत्कृष्ट पारीको मद्दतले भारतले २७४ रनको पारी ६ विकेट गुमाएर पूरा गरेको थियो । यसै पारीको सहयोगमा सचिन उक्त खेलमा ‘म्यान अफ दी म्याच’ र प्रतियोगितामा ‘प्लेअर आफ दी टुर्नामेन’ पनि घोषित भएका थिए । उक्त प्रतियोगितामा भारत आफइनमा अस्टे«लियासँग पराजित भएको थियो ।
हैदराबादमा न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन
हैदराबादमा न्युजिल्यान्डविरुद्ध सचिनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १५० बलमा २० चौका र तीन छक्काको सहयोगमा १८६ रनको पारी खेलेका थिए । सचिनको यो उत्कृष्ट शतकीय पारीको सहयोगमा भारतले ३७६ रनको लक्ष्य दिएको थियो । जसको बदलामा न्युजिल्यान्डले २०२ रनमा अल आउट हुँदै १७४ रनले पराजित भएको थियो । उक्त खेलमा पनि सचिन ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक
२४ फेब्रवरी २०१० मा मास्टर ब्लास्टरले एक अर्को इतिहास रचेका थिए । उनले दक्षिण अफ्रिकाविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरेका थिए । १४७ बल खेल्दै २०० रन बनाएका थिए । यो खेल भारतले १५३ रनले जितेको थियो । ३७ वर्षको उमेरमा उनले यो उपलब्धि हासिल गरेका थिए ।

