धितोपत्र बोर्डले ‘एक नेपाली एक डिम्याट खाता’ अभियान सन्चालन

असार २५ । नेपाल धितोपत्र बोर्डले ‘एक नेपाली एक डिम्याट खाता’लाइ अभियानका रुपमा सन्चालन गर्ने भएको छ । बोर्डले दोस्रो बजारका लगानीकर्तालाई आगामी आर्थिक वर्षदेखि पान नम्बर लिन प्रोत्साहित गर्ने जनाएको छ । आगामी आर्थिक वर्ष २०७५/७६ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले बजार पूर्वाधार, लगानी उपकरण आदिमा सुधार तथा विकास गर्ने जनाएको छ ।

 

बोर्डले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि गर्ने, धितोपत्र तथा वस्तु विनिमय बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गर्नेछन् । यस्तै, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार गर्ने, बजार सहभागीहरुको व्यावसायिकता तथा स्तर अभिवृद्धि गर्ने, बजारसम्बन्धी जनचेतना अभिवृद्धि गर्न प्रादेशिक पुँजीबजार प्रदर्शनीलगायत विभिन्न प्रशिक्षणमूलक, छलफल/अन्तरक्रिया कार्यक्रम सन्चालन गर्ने लक्ष्य नीति तथा कार्यक्रममा राखिएको छ । धितोपत्र तथा वस्तु विनिमयसम्बन्धी नीति तथा कार्यक्रमले नेपालको धितोपत्र र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाइ सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिइएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए ।

आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ देखि दोस्रो बजारमा लगानी गर्दा अनिवार्य स्थायी लेखा नम्बर गरिने भने पनि हाललाई यसलाई प्रोत्साहितमात्र गर्ने नीति बोर्डले लिएको छ । हालको बजारको अवस्थालाई मध्यनजर गर्दै आगामी साउनदेखि स्थायी लेखा नम्बर अनिवार्य नगरिने तर पान नम्बर लिन प्रोत्साहित भने गरिने अध्यक्ष कार्कीले बताए । यस्तै, बोनस शेयर तथा हकप्रद सेयरको घोषणा तथा सोसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउन र हकप्रद सेयरको हकको निस्सा बोलकबोल प्रक्रियामा व्यापक सहभागिता बढाउन आवश्यक व्यवस्था गर्ने पनि बोर्डले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.