स्वास्थ्य मन्त्रालयमा चरम राजनिती: कोभिड तथा सरुवा रोगबारे चेतना प्रवाह गरिरहेका डा. पुनलाई कारबाही गर्ने तयारी
बैशाख ६, काठमाडौं । कोभिड १९ तथा सरुवा रोगका विषयलाई लिएर सवैभन्दा धेरै जानकारी प्रवाह गरिरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनलाई कारबाही गर्ने तयारी गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त रोगका विषयमा धेरै लेखेको तथा बोलेको भन्दै स्पष्टिकरण सोधेको हो। सरुवा रोगमा जापानबाट पिएचडी गरेका उनी सरुवा रोगका विषयमा धेरै जानकारी प्रवाह गर्ने चिकित्सकमा पर्छन्। कोरोना भाइरसका विषयमा पनि सर्वसाधारणलाई सवैभन्दा पहिले जानकारी गराउने नेपाली चिकित्सक मध्यका एक हुन् उनी। उनले गत पुष २० गते नै ‘चीनमा सार्स फैलियो, नेपाल कति जोखिमम भनेर लेख लेख्दै सरोकारवाला र सर्वसाधरणलाई सचेत गराएका थिए। नेपालमा कोरोना नदेखिएको अवस्थामा पनि यसबारे तयारी गर्नुपर्नेमा उनको जोड रहँदै आएको थियो।
कोरोना संक्रमित र सम्भावितको उपचारका साथै सचेतना फैलाउन सक्रिय उनले सञ्चार माध्यममा धेरै लेखेको र बोलेको भन्दै कारबाही गर्न लागिएको हो। उनी क्लिनिकल उपचारका साथै रोगको अनुसन्धानमा पनि सक्रिय रहन्छन्। आफूले प्राप्त गरेको जानकारी आमजनमाझ पुर्याउन सक्रिय हुन्छन्।
उनी आफूले जानेका कुराहरु सकारात्मक रुपमा आम नागरिकले बुझ्ने गरी सरल भाषामा जानकारी गराउँछन्। उनी यसरी सक्रिय हुँदा उक्त अस्पताल र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका हाकिमहरुले आफू छायाँमा परेको भन्दै डा पुनको ईर्ष्या समेत गर्ने गरेका थिए।
आफूलाई छायाँमा पारेको रिस उनीमाथि पटक पटक पोखिदै आएको छ। धेरै जानकारी लिने र प्रवाह गर्ने गरेका उनलाई रोक्न यसअघि अस्पतालले डा अनुप बास्तोलालाई प्रवक्ता तोकेको थियो। उक्त अस्पतालका तत्कालिन निर्देशक तथा हाल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेलाई उनी हावी भएको मन परिरहेको थिएन। त्यसकारण उनले गत मंसिरमै उनलाई कारबाही गर्ने तयारी गरेका थिए।
गएको सिजनमा उपत्यकामै डेंगु फैलिएको थियो। उक्त रोग विरुद्ध उनी उपचारमा सक्रिय हुनुका साथै सचेतना फैलाउन लागिपरेका थिए। उनले गरेको उक्त कामको प्रशंसा भएको थियो। उनको प्रशंसा भएपछि उक्त अस्पतालका तत्कालिन निर्देशकलगायत चिढिएका थिए।

