प्रहरीले गर्‍यो परेली आयुर्वेद हाउस सिलबन्दी

चैत २८, भक्तपुर । अनुमतिभन्दा भिन्न किसिमका कस्मेटिक चिजबस्तुहरूको उत्पादन, प्याकिङ, लेबलिङलगायत कार्य गरी अनधिकृत रूपमा सामानहरू बिक्री गरेको पाइएपछि एक आयुर्वेद हाउसमा सिलबन्दी गरिएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटस्थित ‘परेली आयुर्वेद हाउस’ बिहीबार सिलबन्दी गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुर र औषधि व्यवस्था विभागबाट खटिएको संयुक्त टोलीले जनप्रतिनिधिहरूको रोहबरमा परेली आयुर्वेद हाउसको उत्पादन, प्याकिङ लेबलिङ साथै स्टोर गरेका कोठाहरू र मुख्य प्रवेशद्वारमा पनि सिलबन्दी गरेको हो ।

हर्बलजन्य वस्तु उत्पादन गर्ने उद्देश्यका लागि मात्र दर्ता गरेको उक्त हाउसले अनधिकृत रूपमा साबुन, विभिन्न ब्रान्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसनलगायत कस्मेटिक सामान उत्पादन, प्याकिङ तथा लेबलिङलगायत काम गर्थ्यो ।

साथै उक्त उद्योगकी सञ्चालिका काभ्रे घर भएकी ३६ वर्षीया कमला उप्रेती (अर्याल) सँग आवश्यक सोधपुछ तथा सम्बन्धित विभाग र निकायहरूसँग समन्वय गरी यस सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.