धुलिखेल अस्पतालमा आजबाट कोरोना संक्रमण सम्बन्धि परीक्षण हुने

शुक्रवार भएको सल्लाह अनुसार धुलिखेल अस्पतालका संस्थापक डा.राजेन्द्र कोजुसँगको छलफलमा आइतवारबाट परीक्षण शुरु गर्ने निर्णय भएको हो ।

यसका लागि बागमती प्रदेश सरकारले उक्त रोगको परीक्षण र उपचारका लागि धुलिखेल अस्पतालले ब्यवस्थापनमा खर्च गर्ने गरी नगरपालिकामार्फत २० लाख उपलब्ध गराई सकिएको छ । सामाजिक विकास मन्त्रालयले नगरपालिकाको खातामा २० लाख रकम जम्मा गरिसकेको बताएको छ ।

काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार परीक्षण सेवाको लागि सबै काम पूरा भइसकेको छ । ‘परीक्षणको लागि आवश्यक सबै काम गरिसकेकाले आजबाट नै परीक्षण सुरु हुनेछ ।’ उनले भने, ‘दैनिक ९० जना सम्मको परीक्षण गर्न सकिने गरी तयारी भएको छ ।’

यसअघि कोरोना भाइरस संक्रमण परीक्षण गर्न तयारी गरेको भएपनि आवश्यक सामग्री उपलब्ध नभएका कारण परीक्षण शुरु गर्न नपाएको अस्पतालका संस्थापक एवं काठमाडौ विश्वविद्यालय स्कुल अफ साईन्सका डिन डा. राजेन्द्र कोजूले बताए ।

यसैबीच फागुन १ गतेदेखि चैत्र ९ गतेसम्म विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका ३ सय ४९ जना ब्यक्तिहरु दैनिक स्वास्थ्यकर्मीहरुले सम्पर्क गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइरहेका छन् ।

कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, साउदी अरव, मलेसिया, बहराईन, जोर्डन, न्युजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युएई, ओमान, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडिया लगायतका मुलुकहरुबाट जिल्लाबासीहरु स्वदेश फर्किएका छन् । फर्किएका मध्ये भारतको विहार, नयाँदिल्ली, बेङ्गलोर लगायतका स्थानबाट धेरै रहेको बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.