मनकारी केरा व्यापारी

चैत १९, लम्की । कैलाली, टीकापुरका केरा व्यवसायी नेपबहादुर चौधरीले कोभिड १९ नियन्त्रणमा खटेका नागरिकलाई केरा उपलब्ध गराउनुभएको छ ।

चौधरीले मङ्गलबार २५० दर्जन केरा टीकापुर नगरपालिका अन्तर्गतका सुरक्षाकर्मी, स्वास्थकर्मी र क्वारेन्टाइनमा रहेका नागरिकलाई वितरणका लागि नगरपालिकालाई प्रदान गर्नुभयो ।  उक्त केरा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि       खटेका प्रहरी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा बसेका नागरिकलाई वितरण गरेको छ ।  चौधरीले नगरपालिकाको क्वारेन्टाइमा बसेका नागरिकका लागि दैनिक ५० दर्जन केरा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको छ । ‘‘यस्तो विपत्तिको समयमा मेरो पनि केही दायित्व हुन्छ भन्ने ठानेर क्वारेन्टाइमा बस्ने नागरिकका लागि दैनिक आवश्यक केरा उपलब्ध गराउन थालेको हुँ ।’’ सत्तारुढ नेकपाका सुदूरपश्चिम प्रदेश कमिटीका सचिव चौधारी भन्नुभयो,  ‘‘दिनभरि कार्यक्षेत्रमा खटेका नागरिक र क्वारेन्टाइमा बसेकालाई विषादी प्रयोग नगरिएका केरा वितरण गर्न थालेको छु ।’’

नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टाइमा हाल ३३ नेपाली छन् । नगर प्रमुख तपेन्द्रबहादुर रावलले सहयोगी चौधरीलाई धन्यवाद दिनुभयो । ‘‘चौधरी जस्ता मनकारीहरुले सहयोग पनि गर्न थाल्नुभएको छ । क्वारेन्टाइमा बसेकाका लागि हामीले मञ्जन, साबुनदेखि खानासम्म आवश्यक सबै प्रबन्ध मिलाएका छौ ।’’क्वारेन्टाइमा बस्ने नागरिकको नगरपालिकाले दैनिक दुई पटक स्वास्थ्य परीक्षण गर्ने गरेको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । ‘‘कहिलेकाहीँ विशेषज्ञ चिकित्सकको सेवासमेत दिने गरेका छौँ तर अहिलेसम्म कोही नागरिकमा कोभिड–१९ को संक्रमणका कुनै लक्षण देखिएका छैनन् ।’’

विदेशबाट फर्किएकाको घरमा रातो झण्डा
सरकारले हालै विदेशबाट फर्किएकाहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम कार्यान्वयनका लागि जानकी गाउंँपालिका–९ ले आफ्नो वडामा हालै भारत तथा विदेशबाट आएकाको घरमा रातो झण्डा लगाएको छ । वडाले वडामा भारत तथा विदेशबाट आएका ३० घरमा रातो झण्डा लगाएको हो ।

विदेशबाट आएका घरमा, टोलछिमेकका अन्य व्यक्तिहरुको सम्पर्क हुन नदिन यो उपाय राम्रो रहेको स्थानीयवासी पदम परियारले बताउनुभयो ।

लम्की चुहामा कोष स्थापना
लम्कीचुहा नगरपालिकाले कोभिड–१९ संक्रमणको जोखिम बढेपछि लकडाउनका कारण ज्यालादारी गर्न नपाएका निम्न आय भएका जनतालाई राहत दिनका लागि राहत तथा उद्धारकोषको स्थापना गरेको छ ।

मङ्गलबार बसेको कार्यपालिकाको बैठकले सो कोषमा नगरपालिकाले रु २० लाख रकम राख्ने निर्णय गरेको हो । यस्तै सो कोषमा सबै जनप्रतिनिधिको एक महिनाको पारिश्रमिक समेत सहयोगस्वरुप दिने निर्णय भएको नगर प्रमुख महादेव बजगाईँले जानकारी दिनुभयो ।  रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.