माहामारी नियन्त्रणमा आवश्यक कदम चाल्न मुख्यमन्त्रीको निर्देशन

कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तुकिन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन दिएका छन् । कोरोना भाइरसका कारण विश्वनै त्रसित भएको बेलामा सामान्य रुघाखोकीसमेतको उपचारमा चिकित्सक तथा अस्पतालले हेलचक्रयाइ गरीरहेको गुनासो आएको भन्दै मुख्यमन्त्री राउतले त्यस्ता अस्पताल र चिकित्सकलाई सूची तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । उनले भने–‘राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारवाही गर्छौं, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्स खारेजीसम्मको कारवाही हुन्छ ।’

महामारी नियन्त्रणको लागि आवश्यकताअनुसारको व्यवस्था जिल्लास्तरमै गर्न सुझाव दिँदै मुख्यमन्त्री राउतले रकमको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए । बैठकमा सुरक्षा निकायका प्रमुखले राखेको जिज्ञासामा भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायले सम्बन्धित विषयमा आ–आफ्नो धारणा राखेका थिए भने मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले अहिले विशेष परिस्थितिमा गर्नुपर्ने काम र कानुनी अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रदेश प्रमुख, आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रहरी उपरीक्षकसहितको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारीले महामारी नियन्त्रणको लागि जिल्लामा गरेका प्रयास र आगामी दिनमा गर्नुपर्ने योजनाबारे जानकारी गराएका थिए ।––रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.