जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा बजार अनुगमन तिब्र

चैत ७, काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले दैनिक उपभोग्य वस्तुको बजारमा अभाव हुन नदिन प्रभावकारी अनुगमन शुरु गरेको छ । कोभिड–१९ को जोखिमले बजारमा उपभोग्य वस्तु लगायत ग्यासको अभाव भएको जनगुनासो बढेपछि प्रशासनले अनुगमन शुरु गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि खगेन्द्र सुवेदीको संयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनी, बनेपा नगरपालिकाका प्रतिनिधि सुदर्शन कारञ्जित, काभ्रे उद्योग वाणिज्य सङ्घका महासचिव कैलाश पलाञ्चोके, इलाका प्रहरी कार्यालयका प्रतिनिधि विष्णु सापकोटा लगायतको संयुक्त टोलीले विभिन्न ग्यास उद्योग अनुगमन गरेको हो । यसक्रममा टोलीले बनेपा नगरपालिका–४ मा रहेको सगरमाथा ग्यास उद्योग र वडा नं १० मा रहेको सूर्य ग्यास र चण्डी ग्यास उद्योगमा अनुगमन गरेको हो ।

उपभोक्ताले आवश्यक भन्दा बढी भण्डारण गर्न थालेका कारण यस्तो समस्या भएको पाइएको अनुगमन टोलीले जनाएको छ । अनुगमनको क्रममा ती उद्योगले बजारको माग अनुसार ग्यास डिलरलाई पठाइरहेको पाइएको जनाएको छ । उद्योगले पहिलाको भन्दा दुई गुणा ग्यास बजारमा वितरण गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुडासैनीले जानकारी दिए ।

“ग्यास उद्योगले निरन्तर ग्यास बजारमा पठाए पनि उपभोक्तले अभाव हुने हो कि भनी सञ्चय गरेका कारण बजारमा ग्याँस अभावको हल्ला चलेको पाईएको छ ।”

अन्य समय भन्दा आजकाल दुईगुणा बढी बजारमा पठाइरहेको सो उद्योगका व्यवस्थापक रोशन नापितले बताए । “हामीले पहिलाको भन्दा दुई गुणा ग्यासका सिलिण्डर बजारमा पठाएका छौँ”, उनले भने “अझै पनि बजारमा माग धेरै छ ।”

सूर्य ग्यास उद्योगबाट पनि पहिलेको भन्दा बढी ग्यास बजारमा पठाएको उद्योगले जनाएको छ । अरु बेला दैनिक सात/आठ सय सिलिण्डर बजारमा पठाउने गरेकामा अहिले दैनिक एक हजार ८०० सिलिण्डर ग्यास पठाउँदा पनि माग आउने क्रम जारी रहेको जनाएको छ ।

अनुगमनको क्रममा उद्योगमा साइनबोर्ड नभएको पाइएको भन्दै तत्काल साइनबोर्ड राख्न निर्देशन दिएको छ । त्यस्तै ग्यासको वितरण सहज, न्यायोचित र डिलरहरूलाई निरन्तर ग्यास उपलब्ध गराउनसमेत अनुगमन टोलीले निर्देशन दिएको छ ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.