उपभोग्य वस्तुको भण्डारण पर्याप्त छ, ढुक्क हुनुहोस् – मन्त्री खतिवडा

चैत ७, काठमाडौं । सरकारले औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको भण्डारण पर्याप्त मात्रामा रहेकाले ढुक्क हुन नागरिकमा आग्रह गरेको छ । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सरकारद्वारा नियमित रूपमा आयोजित पत्रकार सम्मेलनमा बिहीबार भन्नुभयो, “औषधि, इन्धन, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मौज्दात पर्याप्त छ ।”
उहाँले भन्नुभयो, “अहिलेसम्म कोभिड–१९ बाट मुलुक मुक्त छ । नागरिक समाज जिम्मेवार भएर सुरक्षा व्यवस्था अपनाएमा कोरोना भाइरस आउनै नदिने सरकारको प्रयास सफल हुनेछ ।” कोरोना भाइरस (कोभिड–१९) मुलुकमा भित्रिन नदिने सरकारको पहिलो प्रयासस्वरूप हवाई तथा स्थलमार्गमा कडाइ गरिएकोसमेत उहाँले बताउनुभयो । सरकारका प्रवक्ता डा. खतिवडाले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा असर देखिएको भन्दै ‘अफ सिजन’को समयमा छिमेकी मुलुकबाट पर्यटक भिœयाउने रणनीति बनाउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटकको चाप हुने फेब्रुअरी र मार्चमा नोक्सान भएको छ । त्यसको पूर्ति अफ सिजनमा छिमेकी मुलुकबाट पर्यटक ल्याएर गर्न सकिन्छ । त्यसका लागि रणनीति बनाउन थालेका छौँ ।”

उहाँले कोभिड–१९ को सन्त्रासबाट छिट्टै मुक्ति पाइएपछि पर्यटन व्यवसाय फेरि आफ्नै लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो । पर्यटन क्षेत्रका श्रमिकका लागि ‘वेलफेयर फन्ड’बाट तत्कालका लागि राहत दिने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले पर्यटन उद्योगको ऋणको पुनर्ताजगी, करको भुक्तानी पर सार्नेलगायत विषयमा छलफल भइरहेको चर्चा गर्दै उद्योगको प्रकृतिअनुसार ऋण र करको विषय फरक पर्ने भएकाले गृहकार्य गर्न अलिकति समय लाग्नेसमेत बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.