फागुन २८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टी फुट्न नदिने कसम खाएका छन ।
बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच भएको पार्टी एकता कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उक्त कुरा उद्घोष गरेका हुन ।
उनले भने, नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ ।’ घोषणासभालाई सम्बोधनका क्रममा भागवत गीताको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन ? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’
अध्यक्ष थापाले विगतका आग्रह पूर्वाग्रहबाट माथि उठ्न आग्रह गरे । एक अर्काप्रति सम्मान गर्दै सामूहिक नेतृत्वको भावना अनुसार दृढताका साथ अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गर्न चाहन्छु उनले भने ।’पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतीज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने प्रतिबद्धता व्यक्त गरेका छन ।

