बेलायती स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

फागुन २८, लन्डन । संयुक्त अधिराज्य बेलायतका स्वास्थ्यमन्त्री नदिने डोरिसलाई नोभेल कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको छ ।

कन्जरभेटिभ पार्टीकी सांसदसमेत रहेकी डोरिस बेलायतमा कोरोना संक्रमित हुने पहिलो सांसद हुन् । उनले आफूलाई कोरोना संक्रमण देखिएपछि सम्पूर्ण सावधानीहरु अपनाइएको र अहिले ‘सेल्फ–आइसोलेसन’ मा रहेको बताएकी छन् । यसअघि बेलायतमा एक ८० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

स्वास्थ्यमन्त्री डोरिससँगै बसेकी उनकी ८४ वर्षीया आमालाई पनि मंगलबारदेखि खोकी लागेकोमा उनी चिन्तित छन् । डोरिससँग विगत १४ दिनयता सम्पर्कमा रहेका मानिसहरुको खोजी भइरहेको छ । अहिलेसम्म उनले पछिल्ला दिनहरुमा वेस्टमिन्सटरमा कतिवटा बैठकमा सहभागी भइन् भन्‍ने यकिन हुन सकेको छैन ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार उनलाई गत बिहीबार कोरोनाको लक्षण देखिएको थियो । सोही दिन उनी १० डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री बोरिस जोन्सनको अध्यक्षतामा बसेको बैठकमा सहभागी भएकी थिइन् । उनी शुक्रबारदेखि भने ‘सेल्फ–आइसोलेसन’ बसेकी थिइन् ।

प्रधानमन्त्री जोन्सनको कोरोना जाँच गरिएको अथवा नगरिएको भन्‍ने विषयमा १० डाउनिङ्‌ले कुनै प्रतिक्रिया दिएको छैन । इङ्ल्यान्डको जनस्वास्थ्य कार्यालयले भने स्वास्थ्यमन्त्री डोरिससँगको सम्पर्कमा रहेका मन्त्री तथा अधिकारीहरुलाई सेल्फ आइसोलेसनमा बस्‍न अथवा कुनै लक्षण देखिए जाँच गराउने सुझाव दिएको छ ।

बेलायतमा हालसम्म २५ हजारमा कोरोना परीक्षण गरिएको र दैनिक १० हजारको परीक्षण गर्ने गरी तयारी गरिरहेको बताइएको छ । हाल दैनिक १५ सयका दरमा कोरोना परीक्षण भइरहेको जनाइएको छ । बेलायतमा ३२४ जनामा कोरोना संक्रमित भएको पुष्टि गरिएको छ ।–बीबीसी

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.