चुरे क्षेत्रको उत्खनन अनुसन्धान हुँदै

फागुन १४, काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरकारले नदी तथा खोला किनारा संरक्षण र पहिरो नियन्त्रणलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्न भूमिगत जल पुनर्भरण, वृक्षरोपण, पोखरी तथा सिमसार क्षेत्रको व्यवस्थापन, अतिक्रमण नियन्त्रण, कृषि, वनलगायत कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो । सरकारले २०७१ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइसकेको छ । समग्र तराई –मधेश चुरे क्षेत्रको संरक्षण गर्न सरकारले गुरुयोजनासमेत तय गरिएको छ । चुरे तथा तराई–मधेश क्षेत्रको प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्न राष्ट्रपति तराई चुरे संरक्षण समिति गठन भई एकीकृत रुपमा संरक्षण र व्यवस्थापन भएर राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

मन्त्रीले बस्नेतले भन्नुभयो, “तराई मधेश चुरेका कारणले उत्पन्न हुने समस्याले प्रभावित छ, बाढीपहिरो र डुबानको समस्या छ, त्यसको समाधानका लागि सरकार योजनाबद्ध ढङ्गले लागिपरेको छ, जलवायु परिवर्तनको समस्या समाधान हुन्छ ।” उहाँले चुरे क्षेत्रबाट नदीजन्य क्षेत्रमा कति उत्खनन गर्नुपर्ने हो भन्नेबारे अनुसन्धान भइरहेको समेत जानकारी दिनुभयो ।

त्यसअघि सांसद डिला सङ्ग्रौलाले चुरे दोहनले तराई–मधेशमा पानीका मुहान सुक्न थालेका अवस्थामा समाधानका लागि सरकारको योजना के छ भनी प्रश्न गर्नुभयो । सांसद सरिता गिरी र प्रेम सुवालले चुरेको ढुङ्गाबालुवा कहाँ लगिन्छ भनी प्रश्न गर्नुभयो ।– रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.