‘अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धार हुनुपर्छ’ : मुख्यमन्त्री पौडेल

फागुन १४, त्रिसुली । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

वि.सं. २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखा भूकम्पबाट क्षतिग्रस्त भएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिँदै अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हैन सिकाउने शिक्षाका रुपमा विकास गर्नुपर्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताए । वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा) को समन्वय तथा एशियाली विकास ९एडिबी० बैंकको आर्थिक सहयोगमा ११ करोड ५३ लाखको लागतमा सो विद्यालयको भवन पुनःनिर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा र धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताए ।

प्रधानाध्यापक महेन्द्र राउतले पुरानो पश्चिम १ नं कै पुरानो सो विद्यालयमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिएको बताउँदै कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने नुवाकोट जिल्लामा पहिलो र एक मात्र भएको जानकारी दिए । सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जेहेन्दार र गरीब विद्यार्थीलाई सो छात्रावासमा राखिएको जानकारी दिए ।–रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.