काठमाडौं । सेयर बजार परिसूचक बिहीबार ३६ अंकले बढेको छ । साताको अन्तिम दिन नेप्से परिसूचक ३६.०१ अंकले बढेर १२ सय २४.४१ अंकमा पुगेको हो ।
बिहीबार नेप्सेमा देखिएको सुधार एक महिनाभन्दा पनि पछि आएको हो । जेठ १४ गते बजेट आउनु पूर्वसन्ध्यामा ठूलो अंकले उचालिएको नेप्सेले त्यसयता लगानीकर्तालाई खुसी दिन सकेको थिएन । नेप्सेमा ठूलो अंकको सुधार आउँदा यसदिन कारोबारमा आएका १६८ मध्ये १४७ कम्पनीको सेयर मूल्य बढ्यो भने मात्र ११ कम्पनीका सेयर मूल्य घट्यो । यसदिन कारोबार सुरु भएदेखि नै उकालो लागेको सेयर बजार १ घण्टापछि केही मिनेट ओरालो लाग्नुका अलवा दिनैभरि सुधारिइरह्यो । यसक्रममा उत्पादनमूलकबाहेक कारोबारमा
आएका सबै समूहको उपसूचक बढ्दा नेप्सेको सुधारमा टेवा पुग्यो । बिहीबार नेप्से बढ्दा “क” वर्गको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ७.५१ अंकले सुधारिँदै २५७ दशमलव ४६ मा पुग्यो भने कारोबार रकम पनि करिब दोब्बरको भयो । अघिल्लो दिन बजारमा २५ करोड रुपैयाँको सेयर खरिदविक्री भएकोमा बिहीबार ४६ करोड २० लाख रुपैयाँको सेयर खरिदविक्री भए । यसक्रममा १६८ कम्पनीका १२ लाख १ हजार कित्ता सेयर किनबेच भए ।
नेप्सेमा बिहीबार उत्पादनमूलक समूह ३७.३४ अंकले घट्नुबाहेक अन्य समूह हरियो नै रहेका छन् । यसदिन बीमा समूह सर्वाधिक ३०३.८ अंकले हरियो देखियो । त्यसैगरी बैंक समूह २६.०४, होटल समूह ५८.६, विकास बैंक ३६.८३, जलविद्युत ४८.९७, वित्त ९.८५, बीमा समूह ३०३.८, अन्य ८ तथा माईक्रोफाइनान्स समूह ७९.१४ अंकले बढ्यो ।
बिहीबार कारोबारमा आएकामध्ये नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भयो कम्पनीको ३१ हजार ५३३ कित्ता सेयर सर्वाधिक ३ करोड ७५ लाख रुपैयाँमा किनबेच हुँदा अन्य २ कम्पनीको पनि २ करोड भन्दा बढीको कारोबार भए । बिहीबार सबैभन्दा बढी कमाउनेमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ता रहेका छन् । कम्पनीको मूल्य १० प्रतिशत बढ्दा रैराङ हाइड्रापोवरको सेयर मूल्य सबैभन्दा बढी ७.३ प्रतिशतले घट्यो ।

