प्रारम्भ खबर ।
फागुन ६, काठमाडौँ । “कागेश्वगरी मनोहरा नगरपालिकाको पहिचान, पर्यटन प्रर्वद्धन र आर्थिक समृद्धि हाम्रो अभियान ” मूल नारासहित कागेश्वरीधाममा पाँचौँ पर्यटन महोत्सव मनाईरहेको छ ।
बाग्मति प्रदेश सरकार र कागेश्वरी मनोहरा नगरपालिकाको संयुक्त आयोजनामा आयोजीत महोत्सवको दोस्रो दिन आज कवि तथा साहित्यकारहरुको प्रस्तुती सहित साहित्य सम्मेलन भएको छ । साहित्य सम्मेलनमा विभिन्न विद्यालयका विद्यार्थीहरुको प्रतियोगीतात्मक कविता वाचन तथा खुल्ला कवि साहित्यकारहरुको प्रतिस्पर्धात्मक कविता वाचन प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा वाचन भएका कविताहरुमा कागेश्वरीधामको पहिचान र अस्तित्व दर्शाउने खालको रहेको छ । पर्यटन प्रर्वद्धनलाई उजगार गर्न स्थलगत वस्तुस्थितिको बारेमा अन्वेषण तथा प्रतिस्पर्धात्मक कविता लेखनले सहयोग पु¥याउने भएकोले महोत्सवमा कागेश्वरी साहित्य सम्मेलनको समेत आयोजना गरिएको आयोजकले जनाएको छ ।

साहित्य महोत्सवमा सहभागी साहित्यकारहरुले पर्यटन प्रर्वद्धनमा कवि, साहित्यकार तथा पत्रकारहरुको उल्लेख्य भूमिका रहेको बताएका छन् । लेख रचनाको विषयवस्तु छनोट गर्दा प्राकृतिक, साँस्कृतिक एवम् ऐतिहासिक स्थानहरुको पहिचान गरी प्रचारात्मकशैलीले पस्काउँदा त्यस ठाउँहरुमा देश तथा विदेशीहरुको नजर चाँडै पर्न सक्ने बताएका छन् ।
महोत्सवको पहिलो दिन ५ गते (आईतबार) सरसफाई तथा बाटो निर्माण, दोस्रो दिन आज विभिन्न स्टल तथा आगुन्तकहरुका लागि स्वागतद्वार निर्माण सम्पन्न भएको छ । भोलि ७ गते प्रतिनिधिसभा सदस्य एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो महोत्सवमा उपत्यकाभरिका प्रतिनिधिसभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु, उपत्यकाका १८ वटै नगरपालिकाका मेयर तथा उपमेयरहरुलाई आमन्त्रण गरेको आयोजकले बताएका छन् । कागेश्वरी पर्यटन महोत्सवका अभियन्ता तथा बाग्मति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले आज भएको साहित्य सम्मेलनमा सहभागी कवि, साहित्यकार तथा प्रतियोगीतात्मक प्रतिस्पर्धीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
मंगलबारको कार्यक्रमलाई भव्य रुपमा सफल पार्न स्थानीयहरु लागि परेका छन् भने कागेश्वरी मनोहरा नगरपालिका १ का वडा अध्यक्ष मकुन्द गजुरेलले सहजीकरण गरिरहेका छन् । कार्यक्रम स्थल गागलको भ्यू–टावर निकै आकर्षक र राष्ट्रिय झण्डा समेत फराएको छ । मथिल्लो चौरसम्मै मोटरसाईकल तथा साना सवारी साधन लान सक्ने वातावरण बनेको छ । मेलामा स्थानीय खाद्य उत्पादनको प्रर्दशन तथा विविधि साँस्कृतिक कार्यक्रम गरिने आयोजकले बताए ।

