माघ १८, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा– ४ का अध्यक्ष मोहनबहादुर विष्टले जनताको सुझाव अनुसार विकास निर्माणको काममा निरन्तर अगाडी बढिरहेको बताएका छन् । वडा भित्रका विकास निर्माणका लागि जनता आफैँ सचेत भईसकेको र जनताको राय सुझावअनुसार नै विकास कार्य भईरहेको बताएका छन् ।
प्रतिनिधि सभा काठमाडौं क्षेत्र नम्बर ५ अन्तरगत स्थानीय पूर्वाधार साझेदार कार्यक्रम र स्थानीय जनताको सहयोगमा निर्मित चुनदेवी क्षेत्र समाजको सामुदायिक भवनको उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् । प्रमुख अतिथि उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल रहेको उक्त कार्यक्रममा शुभकामना व्यक्त गर्दै वडा अध्यक्ष विष्टले आफ्नो वडाभित्रका सामाजिक, साँस्कृतिक तथा विकास निर्माणका कार्यहरु तिब्र रुपमा अगाडी बढिरहेको बताए ।
टोल–टोलमा समस्या आउन नदिन जनतासंग प्रत्यक्ष सरोकार राखी आफ्नो वडाका १५ ओटा टोलमध्ये १२ टोलका जनतासंग जनप्रतिनिधि अभियान समेत सञ्चालन गरेको बताए । वडा अध्यक्ष विष्टले बाँकी २ टोलमा पनि अभियान सञ्चालन गरी जनअपेक्षित कार्य गर्ने योजना रहेको सुनाए । वडाभित्रका ८० प्रतिशत सडक काम सम्पन्न भएको र बाँकी कार्यलाई स्थानीयसंगै सहकार्य गरी अगाडी बढाउने बताए ।
उनले सामाजिक कार्य तथा बेरोजगार महिला लक्षित सीपमुलक तालिमहरु समेत प्रदान गर्दै आईरहेको र वडालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउने योजना रहेको बताए । सडक छेउमा घर भएकाहरुले मोटरसाईकल वर्कशपका लागि भाडामा दिदा विशेष ध्यान दिनुपर्ने बताए । बाटो छेउमा सटर भाँडामा दिई वर्कशपको काम गर्दा बाटोलाई प्रभावित हुने भएकोले कम्पाउण्ड रहेको घरमा मात्र वर्कशप सञ्चालन गराउन आग्रह गरे ।
कार्यक्रममा विशेष अतिथि नेकपा केन्द्रिय सदस्य एवम् बाग्मति प्रदेश सभा सदस्य नारायण सिलवाल, प्रदेश सभा सदस्य सीता अधिकारी (दाहाल), संविधान सभा सदस्य रत्न गुरुङ लगायतले नवनिर्मित सामुदायक भवनका पदाधिकारी र आगामी कार्य सम्पादनका लागि शुभकामना व्यक्त गरेका थिए ।

