माघ १४, सुर्खेत । टिपरले मोटरसाइकलाई ठक्कर दिएर चालकको मृत्यु भए पछि तनावग्रस्त बनेको कर्णाली प्रदेशको राजधानी सुर्खेत मंगलबार साँझ ६ः३० देखि लागुहुने गरि कर्फ्यू लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै कफ्र्यू लागेको जानकारी दिएको हो ।
बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनकारीलाई तितरवितर पार्न हवाइफाएर गरिएको भने पनि गोलि चलेको स्रोतको दाबी छ । प्रहरीले चलाएको गोली लागि ८ जना प्रदर्शनकारी घाइते भएका छन् ।
भे१ख २२४२ नम्बरको टिपरले भे१प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई किचेको थियो । उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै आफन्तले कर्णाली राजमार्ग बन्द गराएर आन्दोलन सुरु गरेका थिए । यसरी, सुरु भएको आन्दोलन टिपर चालकलाई नियन्त्रणमा लिँदासमेत रोकिएको छैन ।


