मंसिर ३०, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको दाह संस्कार गरिएको छ । हिन्दू परम्परा अनुसार आज अपरान्ह पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको दाह संस्कार गरिएको हो ।
त्यसअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि चलचित्र विकास बोर्डको प्राङ्गणमा राखिएको थियो । अन्तिम श्रद्धान्जलीका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । आइतबार राति ह्रदयघातका कारण उनको मृत्यु भएको थियो । भट्टराई उच्च रक्तचाप र सुगरका बिरामी थिए ।
निर्देशक तथा कलाकारसमेत रहेका भट्टराई बोर्डका बहालवाला अध्यक्ष हुन् । दुईवर्षे कार्यकालका लागि सरकारले गत चैतमा भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । दर्जनौं चलचित्र र टेलिसिरियलमा अभिनय गरेका भट्टराईले ‘आफ्नो मान्छे’, ‘देवर बाबु’, ‘छोडी गए पाप लाग्ला’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘यात्रा’ लगायत चलचित्र निर्माण गरेका थिए । भट्टराईको एक छोरा र श्रीमती छन् ।

