मंसिर २९, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माणमा अपेक्षा अनुसारको तिव्रता दिन नसकिएको बताएका छन् ।
२५ औं महानगर दिवसका अवसरमा बोल्दै मेयर शाक्यले पुरातत्त्व विभागको हस्तक्षेप, आपसी झगडा लगायतका कारणले कामले तिव्रता नपाएको बताएका हुन् । विवादकै कारण रानीपोखरी, काष्ठमण्डप पुनर्निर्माणको काम एक वर्ष ढिला सुरु भएको शाक्यले बताए ।
शाक्यले निर्वाचनका समयमा जाहेर गरेका आफ्ना प्रतिबद्धता सबै नभए पनि धेरै काम भएको बताए । ‘केही काम बाँकी छन् । त्यो बेला भनेका बाहेक थप काम पनि भएका छन् । अन्य पार्टीले घोषणा गरेका राम्रा कुरा आफ्नै बनाएर लागु गरिरहेका छौँ,’ उनले भने । उपमेयर हरिप्रभा खड्गीले देशको विकासका लागि अब महिला नेतृत्व आवश्यक रहेको बताइन् । अबको स्थानीय तहमा वडाध्यक्ष, उपप्रमुखमा मात्रै सीमित भएर विकास सम्भव नभएको भन्दै उनले स्थानीय तहको प्रमुख र अरू संवैधानिक निकायमा महिलाको सहभागिता महत्त्वपूर्ण रहने बताइन् ।

