महानगरले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन व्यवस्थापन गर्ने

मंसिर २५, काठमाडौं । काठमाडौं महानगरले माइतीघर मण्डलादेखि तीनकुनेसम्मको साढे २ किलोमिटर सडकखण्डमा साइकल लेनको व्यवस्थापन गर्ने भएको छ ।

यसको पूर्वाधार विकास र लेन सञ्चालनका लागि मंगलबार तयार पारिएको गुरुयोजनाका विषयमा सरोकारवालासँग अन्तरक्रिया गर्ने क्रममा यो जानकारी दिइएको हो । अन्तरक्रियामा महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले भने, “चाँडो गन्तव्यमा पुग्नुपर्ने सहरी चरित्र र विस्तारै गन्तव्य तय गर्न सकिने साइकल यात्रा दुवैको चरित्र मिसाएर योजना तर्जुमा गर्नुपर्ने छ । सहरी स्वास्थ्य र वातावरणीय सुधारका लागि साइकल चाहिन्छ, यससँगै ठूला सवारी र पैदलयात्रीको यात्रा व्यवस्थासँगै तयार पार्नुपर्छ ।”

“काठमाडौं सहर निर्माण हुँदा, यहाँका सडक सहरी चरित्रकाभन्दा बढी राजमार्ग चरित्रका बनाइयो,” महानगरको सहरी योजना आयोगका सरोज बस्नेतले आफ्नो धारणा राख्दै भने,“त्यसबेलाको अवस्था र व्यवस्था त्यस्तै थियो । यसलाई सुधार गरेर सबै प्रकारका सवारीलाई छुट्टाछुट्टै वा संयुक्त मार्गको व्यवस्था गर्ने र यसमा पनि वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने हाम्रो योजना हो ।”

माइतीघर–तीनकुने सडक खण्डमा साइकल ट्र्याक सञ्चालनमा ल्याएपछि यसको सिकाइबाट सहरका अन्य ठाउँमा पनि विस्तार गरिने उपाध्यक्ष बस्नेतको भनाइ थियो । त्यसक्रममा महानगरको वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारले एक खण्डसँग अर्को खण्ड जोडेर लैजान सके मात्र कार्यक्रम शुरुवातले दिगोपना पाउने धारणा ब्यक्त गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.