उपनिर्वाचन २०७६ः मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

मंसिर ५, सिमकोट । जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका अति संवेदनशील पालिका भएकाले चुनावलाई शान्त र मर्यादित बनाउनका लागि जिल्ला सुरक्षा व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । उपनिर्वाचनको मौन समय मङ्सिर ११ गते राति ७ बजेदेखि शुरु हुन्छ । सो समयमा खार्पुनाथ गाउँपालिकामा अन्य पालिकाका नागरिक र राजनीतिक दलका नेता तथा कार्यकर्तालाई प्रवेशमा निषेध गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा खार्पुनाथ गाउँपालिकामा अन्य नागरिकले प्रवेश गर्दा धाँधली हुने सम्भावना बढी देखिएकाले सुरक्षा निकायले पालिकामा प्रवेश गर्न निषेध गरिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन कार्य सम्पन्न नहुँदासम्म गाउँपालिकाभित्र पूर्णरुपमा कुनै प्रकारका मदिराजन्य उत्पादन तथा बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।

पालिकाभित्रका व्यक्तिले कानूनीरुपमा अनुमति प्राप्त गरी आफ्ना नाममा राखेका हात हतियारलाई निर्वाचन अवधिभरि जिल्ला प्रशासन कार्यालयमा बुझाउने, निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरुपमा कर्मचारी, राजनीतिक दलले कार्यान्वयन गर्ने, निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा कानूनी कारवाही गरिने, चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने, निर्वाचनको मौन अवधिभर मतदाता र निर्वाचन आयोगबाट जारी भएको पास भएका व्यक्तिबाहेक अन्यको आवागमनलाई कडाइका साथ निगरानी गरिनेलगायतका निर्णय गरिएको जिल्ला सुरक्षा व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिनुभयो । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.