मंसिर २, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकमा नेत्रप्रसाद सुवेदी नियुक्त भएका छन् । यसअघि भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रहेका सुवेदी विभागमा नियुक्त भएका हुन् ।
महानिर्देशक सुवेदीले ठूलो समस्याको रुपमा रहेको बजार मूल्य र गुणस्तरलाई सम्बोधन गर्दै पहिलो कार्यसूचीमा राख्ने बताएका छन् । जसको लागि विज्ञहरुको सूची बनाई त्यसको आधार तय गरी अगाडि बढ्ने उनको भनाई छ । “बजार अनुगमन, गुणस्तरको मापदण्ड तयारीका लागि विज्ञहरुको सूची बनाएर छलफलगरी निर्धारण गर्छौं, बजारमा पटक–पटक मूल्य सूचीको कुरा आउने भएकाले त्यसको आधार तयार गरेर अघि बढ्छौं, ”उनले भने सुवेदी २०५२ सालमा केन्द्रीय तथ्यांक विभागका तथ्यांक सहायक हुँदै, शाखा अधिकृत कालीकोट–बर्दिया, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय योजना आयोग, बाग्लुङ (उपसचिव), सिरहा, महालेखा नियन्त्रक कार्यालय, शहरी विकास मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरण (सहसचिव) र भरतपुर महानगरपालिकामा (प्रमुख प्रसाशकिय अधिकृत) अनुभव बटुलिसकेका छन् ।
सुवेदीले वाणिज्य तथा अन्तर्राष्ट्रिय व्यापार, सार्वजनिक प्रशासन र विज्ञान विषयमा स्नाकोत्तर डिग्री हासिल गरेका छन् भने उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत वाणिज्य तथा अन्तर्राष्ट्रिय व्यापारको स्वर्णपदक विजेता पनि हुन् । महानिर्देशक योगेन्द्र गौचनको अवकाशपछि रिक्त ठाउँमा सुवेदी नियुक्त भएका हुन् ।

