कात्तिक ३०, दाङ । प्रहरीले विप्लव समूहले लुकाएर राखेका अत्याधुनिक हतियार बरामद गरेको छ । गोप्य सूचनाको आधारमा कपिलबस्तु जिल्लाको शिवनगर नगरपालिका वडा नं १ स्थित खाली गोठबाट ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले आज विहहान घोराहीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले ती सबै हतियार सरकारद्धारा प्रतिवन्धित विप्लव समूहको भएको जानकारी दिएका छन् । असोज ३० गते मात्रै प्रहरीले दाङको गढवा गाउँपालिकाको सीमा नाका क्षेत्रवाट विप्लवका दाजु ‘बीरजंग’सहित राप्ती व्यूरोका २१ नेता कार्यकर्ता पक्राउ गरेको थियो । त्यसको ठिक एक महिना पछि प्रहरीले यी हतियारहरु बरामद गर्न सफल भएको छ । उनले ती सबै हतियार एउटै गोठवाट शुक्रावर बेलुका ६ बजे लुकाई राखेको अवस्थामा प्रहरीले फेला पार्न सफल भएको जानकारी दिए । खाली र बेवारिसे गोठ भित्र सुटकेश भित्र राखेर त्यसलाई पात पत्तिंगर तथा झारपातले छोपेर लुकाई राखेको अवस्थामा ती हातहतियार फेला परेका एसपी भट्टराईले जानकारी दिए ।

