प्रदेश नं. ३ को योजनाबारे छलफल

कात्तिक २४, हेटौडा । प्रदेश नं. ३ ले प्रदेशको विकास लागि पहिलो आवधिक योजनामा समेटिएका विषयमाथि छलफल गरेको छ । प्रदेश नीति तथा योजना आयोगले यहाँ आयोजना गरेको अन्तक्रियामा प्रदेश नं ३ ले योजनामा समेटिएका विषयलाई कसरी लागू गर्ने विषयमा छलफल गरेको हो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विज्ञको सल्लाहमा नै प्रदेशमा योजना कार्यन्वयन गर्ने बताउनुभयो । “हामीले प्रदेशको विकासका लागि पाँच वर्षे आवधिक योजना सार्वजनिक गरेका छौँ,” उहाँले भन्नुभयो, “ती योजनामा समेटिएका विषयवस्तुलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर विज्ञको सुझावको आधारमा योजना कार्यन्वयन गर्दछौ ।” पूर्वाधार, कृषि, विशिष्टीकृत सेवा, उद्योग, सम्पदामैत्री पर्यटन पाँच विकासका चालकलाई समेटेर आवधिक योजना ल्याएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले सातवटै प्रदेशले एकै किसिमको योजना नबनाएर फरकफरक बनाएको भन्दै एकरुपता हुनुपर्ने बताउनुभयो । “हामीले नबनाएका योजना पनि कतिपय प्रदेशले बनाएका पाइयो”, उहाँले भन्नुभयो, “हामी र प्रदेश योजनाबीच समन्वय गरेर प्रदेशले योजना बनाउनुपर्दछ ।” उहाँले सरकारको १५ औँं योजनाबाट मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियानलाई प्रदेश सरकारले सहयोग गर्ने गरी योजना बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा पूर्वाधारका विषयमा पूर्व सचिव किशोर थापा र ईश्वर जोशी, शिक्षामा प्रा डा मनप्रसाद वाग्ले र डा केदारभक्त माथेमा, कृषिमा डा रामप्रसाद अधिकारी, सूर्य राई र मीनबहादुर बस्नेत, पर्यटनमा दिपेन्द्रपुरुष ढकालले सुझाव दिनुभएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.