कात्तिक १५, दाङ । देउखुरीमा वनभोज खाएर फर्कँदै गरेकाहरू बोकेको ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो साढे तीनबजे जिल्लाको गढवा गाउँपालिका वडा नं. ६ मनिकापुरका वनभोज खाएर फर्कने क्रममा ट्रयाक्टरमा सवारहरू गढवा ५ कोईलाबासमा दुर्घटनामा परेका हुन् । तीव्रगति र अत्यधिक यात्रु रहेकाले अनियन्त्रित भइ दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । गढवा–कोईलाबास सडक खण्डमा रा १ त २३९३ नम्बरको ट्रयाक्टरको ट्रली पल्टिँदा ट्याक्टरमा सवारमध्ये तीनजनाको ज्यान गएको हो । ज्यान गुमाउने गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरका रहेका किशोरी रहेका छन् । ज्यान गुमाउनेमा वर्ष ११ की निनु पुन, वर्ष १२ की सीमा परियार र वर्ष १२ की सुनिता परियार रहेका छन् ।
ट्याक्टरमा सवार कुल २६ जना मध्ये अन्य २३ जना घाइते भएका छन् । दुर्घटनामा ४ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ अन्य १९ जनाको स्वास्थ्य चौकी गढवा र लमही अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शाहले बताए ।

