कार्तिक ६, विराटनगर । मोरङको रंगेलीमा दुई वर्षअघि रहस्मय ढंगले भएको हत्या प्रकरणमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
२०७४ असार ११ गते रंगेली नगरपालिका ९ स्थित दर्वेशा– वनकोल जोड्ने सडक खण्डमा ६५ वर्षीय पहाडचन्द राजवंशीको टाउको, घाँटी र छातीमा चोट लागि मृत अवस्थामा फेला परेका थिए ।
बोक्सो आरोपमा गाउँबाट विस्थापित भएका राजवंशीको घाँटी रेटेर विभत्स अवस्थामा शव फेला परेको थियो । बोक्सो आरोपमा गाउँमा अपहेलित हुँदै विस्थापित भएका राजवंशीलाई प्रहरीले पुनःस्थापित गरेको थियो । मानव मलमूत्र खुवाउने प्रयास गर्दै निर्घात कुटपिट भएपछि प्रहरीले २०६९ सालमा सात जनाविरुद्ध मुद्दा चलाएको थियो । पछि दुई हजार धरौटीमा छुटेकाहरूको घटनामा संलग्नता हुन सक्ने प्रहरीको आशंका थियो । सोहीअनुरुप अनुसन्धान गरे पनि भरतलाल भने फरार थिए । फरार राजवंशीको खोजी गर्न प्रहरी एक पटक भारतसम्म पनि पुगेको थियो ।
सो घटनामा प्रहरीले अनुसन्धान र खोजतालस गरे पनि हत्यामा संलग्नको नजिक पुग्न सकेको थिएन । तर, लामो समयको अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार विराटनगरमा सार्वजनिक गरेको छ । मृतक पहाडचन्द राजवंशी भएको खुलेपश्चात असार १२ गते निज मृतकको छोरा वर्ष ३७ का लक्ष्मीप्रसाद राजवंशीले जाहेरी दरखास्त दिएका थिए । तर, प्रतिवादीको नाम भने खुलेको थिएन । मोरङ प्रहरीका एसपी विश्व अधिकारीका अनुसार घटनाको २० दिनपछि अनुसन्धानमा संलग्न व्यक्तिको पहिचान भएको थियो । साउन ३१ गते मृतककी बुहारी वर्ष २८ की चिन्ता कुमारी राजवंशीले प्रतिवादी भरतलाल राजवंशीविरूद्ध किटानी जाहेरी दिएकी थिइन् । अधिकारीले भने,‘‘प्रहरीले त्यसपछि थप अनुसन्धान सुरू गरेको हो ।’’
इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वको अनुसन्धान टोलीले निरन्तरको निगरानी र सूचना विश्लेषणपछि मंगलबार रंगेली ९ दर्वेसास्थित आफ्नै घरमा लुकेर रहेको अवस्थामा भरतलाल राजवंशी पक्राउ परेका हुन् । उनलाई बुधबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ परेका भरतिविरुद्ध इप्रका रंगेलीबाट मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

