व्यापारसम्बन्धी नेपाल–बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु

कार्तिक ५, काठमाडाैँ । दुई देशीय व्यापारसम्बन्धी नेपाल–बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको होटल याक एण्ड यतीमा सोमबार बिहानबाट शुरु भएको बैठक मंगलबारसम्म चल्ने छ । बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ सदस्यीय टोली सहभागी छ ।

यस्तै बंगलादेशको तर्फबाट बंगलादेशको वाणिज्य मन्त्रालयकी सहसचिव सरिफा खान नेतृत्वको सात सदस्यीय टोली सहभागी छ । दुई दिने बैठकमा नेपालले बंगलादेशसँग सात एजेण्डाका १४ बुँदामा छलफल गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेश भट्टराईले जानकारी दिनुभयो ।

तेस्रो बैठकको प्रगति समिक्षा गर्दै नेपाल–बंगलादेश मालबाहक कार्गो सञ्चालनको मोडालिटीबारे छलफल गर्न नेपालले चाहेको छ । यस्तै ढाका–काठमाडौं बस सेवा सञ्चालनको विषय पनि बैठकमा उठ्ने छ ।

कृषि विभाग, मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र बंगलादेशको समकक्षी विभागबीच खाद्य सुरक्षा र प्लान्ट क्वारेन्टाइनका सम्बन्धमा आपसी समझदारी गर्ने विषय पनि नेपालको छलफलको एजेण्डा हो ।

बैठकमा बिराटनगर तथा भद्रपुरबाट सियादपुर र रंगपुरसँग हवाई सञ्जाल जोड्न सकिने सम्भावनाबारे पनि छलफल हुनेछ । दुई देशबीचको भिसा सहजीकरण र भन्सार नाकाको पूर्वाधार विकास पनि बैठकको एजेण्डा हुनेछ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.