रमेश शुभेच्छु ।
हाम्रो सचिवालयले गत वर्ष पनि शुभकामना दिएकै हो । गतको गत र गतगतको गत बवर्ष पनि दिएकै हो । यसपटक अलि फरक ढङ्गले शुभकामना पत्र तयार पारेको छ । बजारमा रेडिमेड शुभकामनाको बिग्बिगी छाएका बेला यस किसिमको शुभकामना कार्ड प्रकाशन हाम्रो मौलिकता हो भन्ने हामीलाई लागेको छ । मन परे पनि नपरे पनि शुभकामना ग्रहण गर्नै पर्ने प्रावधान छ । शुभकामना यसरी सुरु हुन्छः
आदरणीय, माननीय, पूजनीय, ढोगनीय, फेसबुकीय, आत्मीय, प्रिय मेरा तपाईँ………..मम भन्नु होला…………ज्यूलगायत……..
टाउकोमा कर्जाको भारी बोकेर दशैँ पेस्की आएको भोलिपल्ट बैंकमा किस्ता बुझाउन हाजिर हुने,
भुइँचाले आएको यतिका वर्षपछि पनि टहरा र पालमै बसिरहने,
बाढीले घर खेत बगाएर बगरमा पाल हालेर बस्ने,
वैदेशिक रोजगारमा दशकौँदेखि हराइरहने,
विवाह भएका दिनदेखि लोग्ने स्वास्नी भेटै नहुने,
लोग्ने स्वास्नी भेट भए पनि चाडबाटमा भेट नहुने,
पाँचौँ बर्षदेखि नवजात शिशुसँग भेट नहुने (बाबु)
परिवारमा आधा केजी मासु जोहो गर्न नसक्ने,
घरमा रङ पोत्न रहर भएर पनि नसक्ने,
गाडी पुज्न रहर भए पनि पुज्न नसक्ने,
गाडी पूजेको फोटो खिच्न सक्ने क्यामरा नहुने,
पच्चीस वर्षअघि सेना, पुलिसमा जागिर खान गएर घर नफर्कने, देशको परिवर्तन गर्ने सपनासाथ जनयुद्धमा लागेर घर नफर्कने,
छिमेकीका घरमा बाख्रा भेडा कराएर सुत्न नपाउने,
सेल्फी खिच्न जाने पनि नेटको पैसा तिर्न र पोष्ट गर्न नसक्ने,
सेल्फी खिच्ने क्यामरा नै किन्न नसक्ने,
छिमेकीका घरमा गएर टिभी हेर्ने,
छिमेकीका रेडियोको गीत सुनेर मनोरञ्जन लिने,
छिमेकीकै घरको मासुको वास्नामा रमाउने,
ठूलाबडाका घरमा पाहुना आउँछन् भनेर घर जान नपाई भर्याङ पुछ्तै गर्ने,
अरुकै घरका हाँडाभाँडा मस्काउँदै गर्ने,
घर पुग्ने भाडा नभएर सहरको डेरामा सागको झोल उमाल्दै गर्ने यहाँहरुलाई विशेष शुभकामना । मनदेखिको शुभकामना ।
भनेजस्तो लुगा नकिन्दिने लोग्नेसँग सात दिनदेखि बोलचाल बन्द गर्ने,
बाबुआमाले एक जोर मावल जाने जुत्ता नहाल्दिएकामा सातै खिनदेखि अनसन बस्ने,
स्वास्नीले भुटुन किनेका झोकमा यस पाली ससुराल नजाने धम्की लाउने,
छोराबुहारीले छोडेर सहर पसेदेखि गाउँमा झिगा धपाएर बस्ने,
स्वास्नी छोराछोरी र आबुआमा हजुरबाहजुरआमाको दशैँ मनाइदिँदा दिँदै छोरी ज्वाइँलाई दक्षिणा दिने ऋण खोज्न निस्कने,
तीन महिनाअगाडि मन्त्री खुस्केर दशैँ खल्लो हुने,
पार्टीले संसद्को पद राजीनामा दिन लाएर वेरोजगार हुने,
भर्खरै जिएमबाट खुस्किएर बेरोजगार हुने,
यस पाली दशैँका मुखमा तलव रोयल्टी नपाउनु हुने
दशैँ पेस्कीमा जम्मा एक पिरियडको पैसा पाउनुहुने,
जागिर खाएर पनि दसैँ पेस्की पाउँदै नपाउनुहुने,
दसैँका मुखमा तलब अड्किएर केटाकेटीलाई भान्सा जोहो गर्न सरसापट खोज्ने,
दशैमा जोहो गरेको खाद्यान्न सकिएर फेरि बजार जाँदै गर्ने,
गत चुनावमा हारेर र जमानत जफत भएर बस्नुहुने,
रोगभोक शोकको मर्म थाहा पाउनुहुने,
जुत्ता चप्पल फाटेका कारण माइत ससुराल नजाने नै निर्णय गर्नुहुने,
खल्ती रित्तो भएका कारण मावली माइती ससुरालीले हेला गरेर आशीर्वाद थाप्न जान नपाउनुहुने,
आशीर्वाद थापूँ लागेर पनि फलफूल किन्ने पैसा नभएर आफन्तकामा जान नसक्ने,
ससुरालै बसेर टीका थाप्न जाने ठाउँ नपाउनुहुने,
गतसाल छोरीज्वाइँलाई दक्षिणा दिँदा दिँदै यस पालाको दशैँमा घर छोड्नुहुने,
पेस्कीमा तलब लिएर रिन तिरेका कारण दशैँ ममान्ने निर्णय गर्नुहुने,
धर्म परिवर्तनका कारण दशैँ मानूँ लागेर पनि चुपचाप बस्नुहुने,
नन्दआमाजू माइत आउने निहुँमा माइत जान नपाउने,
र
अन्य पनि
तमाम सबै मेरा आफन्तहरुमा बडादशैँको शुभकामना । उक्तबाहेकका सबै आफन्तका खसीसहितका शुभकामना दिइसकेकोले उहाँहरुमा दोस्रो चरणमा शुभकामना अर्पण गर्ने हाम्रो सचिवालयको निर्णय छ । रेडिमेड शुभकामना पठाउनुहुने साथीलाई पनि यतैबाट शुभकामना भनिएको छ । अरुका गीत, भिडियोबाट आफ्नो शुभकामना प्रक्षेपण गर्नुहुने मित्रलाई पनि सम्झिइएको छ । फेसबुकमा साथी नबनी प्रोफायल खोलेर केके रहेछ भनेर चियाउनुहुने वासतवमै मलाई माया गर्नुहुने तपाईँलाई विषेश शुभकाकना ।
फेरि शुभकामनै दिन नपाइने भने जस्तो दशैँमा तिहार र अरु पर्वको नाम जोडिएको छैन । अहिलेलाई दशैँको शुभकामना । बैँकमा किस्ता बुझाउँदाझैँ बाँकी शुभकामना चाडैपिच्छे किस्ता किस्तामा पस्किइने छ ।
थप
माइती गरिब भएकाले नपत्याएर माइत नजाने,
ससुराली गरिब भएकाले नपत्याएर ससुराली नजाने,
दाजुभाउजू गरिब भएकाले र बाबुआमा बुढाबुढी भएकाले टीका थाप्न नजाने, खसीले हानेर घाइते हुने, राँगा ढाल्दा पछारिने, सुँगुर रोप्ता लतारिने, भाले काट्ता काट्तै हैरान हुनुहुने,पगितो खाएर नालीमा सुत्ने, अजिर्ण भएर अस्पतालमा सुत्ने, स्वास्नीलाई घर रुँगाएर नयाँ गाडीमा प्रेमिकासँग घुम्ने, दोस्रो तेस्रो विवाह गरेर परिवारमा खुसीको वाहर ल्याउने, गतशालको दशैँ भव्य नभएकामा छोडपत्र गर्ने, दरबार मार्गमा पाँच सयको जुत्तालाई पचास रहजारमा खरिद गर्ने, चुलाका भारमा सिनो सुकाउने, पगितो मासु पकाएका ठाउँमा किरा परेकाले कुकुर बिरालालाई सत्कार गर्ने, सबैभन्दा महँगो तर कुहिएको मासु ल्याएर पकाउने, त्यस्तो मासु खाएर बिरामी पर्ने, छिमेकी मुलुकबाट महिना दिन अघि लोड गरिएका फ्रेस माछा तारेर फेसबुकमा देखाउने, त्यही माछावालकामा पाहुना लागी खाएर बिरामी पर्ने, आफन्तलाई पन्ध्रदिन अघिको ताजा मासु खुवाउने, महँगो रक्सी खाएर परिवारमा कोकोहोलो मच्चाउने, जुवामा हार्ने, तासमा हार्ने सबैलाई मनको तलाउ उभाएर पूर्ण शुभकामना ।
र अनि,
परार छुट्टै, पोहोर छुटै र योसाल छुट्टै बुहारी र उहीछोरासँग मन्दिर घुम्ने, त्यसै गरी उही छोरी र फरक फरक ज्वाईँ र ती ज्वाईँबाट जन्मिएका फरक फरक थर गोत्रका नातिलाई टीका लाइदिन पाउनुहुने, मन्दिरै पिच्छे फरक फरक खसी बोका बलिदिने एवम् बलीको बिग्बिगीकै बेला मान्छे पनि मार्न पाउनु पर्छ भनेर आन्दोलनमा रातोदिन खटिरहनुहुने सबैलाई मुटुभरिको शुभकामना ।
साथै,
मेरा परम आदरणीय दशैँमा देवी पूजाका नाममा चन्दा उठाएर खसी किन्ने, देवीलाई वस्त्र गहना किन्ने रकम उठाएर स्वास्नीलाई साडी र गरगहना जोड्ने, देवीको मूर्ति बनाउन चन्दा उठाएर बालबच्चाको मूर्ति सजाउने हरुमा मेरो हार्दिक सम्झना छ । उहाँहरुमा क्रमशः तेस्रो चौथो र पाँचौँ चरणमा शुभकामना दिइने हाम्रो सचिवालयको निर्णय छ । यी शुभकामना ग्रहणका लागि उचित सुरक्षा प्रवन्ध भएको र शुभकामना प्रात्तिका लागि गेट नं ३६ खुला रहेकोे पनि हाम्रो सचिवालयको अनुरोध छ ।
छुटफुट
यहाँ छुट्नुभएका अन्य आफन्तलाई तिहारमा शुभकामना पुर्याउन घरमै पुगिने निर्णय पनि गरिएको छ । तिहारको देउसी र दशैको शुभकामना मिलाएर पशुपतिको जात्रा सिद्राको व्यापार कि कसो रु तिहारमा सचिवालय वैठकका कारण समय नपुगे छटमा, छटमा नसकिए पुस पन्ध्रमा, पुस पन्ध्रमा पनि नसकिए माघीमा, त्यसो नभए फागुपूर्णिमामा, त्यसो नभए, उँधौलीमा, उँभौलीमा, लोछारमा र त्यहाँ पनि नभए चैतेदशैँसम्ममा अनिवार्य बाँकी जनलाई शुभकामना दिइने छ । आजलाई गाथमा आराम रहोस् भन्ने कामना । गाथमा आराम रहे हामी सबै साथमै रहने त छँदै छ नि कि कसो ?

