चाडपर्व लक्षित सीमामा थप ‘हेल्प डेस्क’

असोज ७, काठमाडौँ । चाडपर्वमा विदेशबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने नागरिकको सहायताका लागि सीमानाकामा थप ‘हेल्प डेस्क’ स्थापना गरिने भएको छ ।

नागरिकको सहायता, सुरक्षा व्यवस्थाका लागि थप हेल्प डेस्क राख्न लागिएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिनुभयो । दशैँ, तिहार, छठलगायतका पर्वमा गृह मन्त्रालयले तयार पारेको सुरक्षा रणनीतिबारे प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिमा जानकारी दिँदै मन्त्री थापाले सुरक्षा व्यवस्था प्रभावकारी बनाइने स्पष्ट पार्नुभयो । मन्त्री थापाले चाडपर्वको समयमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “विदेशबाट विशेषगरी भारतको स्थलमार्ग हुँदै नेपाल आउने नागरिकका लागि सीमामा थप हेल्प डेस्क स्थापना गरिने छ । सीमा नाकामा सादा पोसाकका प्रहरी परिचालनको व्यवस्था हुने छ । समुदाय–नागरिक साझेदारी कार्यक्रममार्फत सुरक्षा व्यवस्था प्रभावकारी बनाइने छ । जनचेतनाका कार्यक्रम पनि सँगै अघि बढाइने छ । ”

गृहमन्त्री थापाले चाडपर्वको अवधिमा हेभी इक्विपमेन्टलाई तयारी अवस्थामा राखिने बताउनुभयो । यस्तै सवारी साधनलाई गन्तव्यतर्फ लाग्नुअघि चालक तथा सहचालकलाई अभिमुखीकरण गरिने पनि मन्त्री थापाले बताउनुभयो । लामो दूरीको सवारीमा दुई चालकको व्यवस्था अनिवार्य गरिएको पनि मन्त्री थापाले समितिमा बताउनुभयो । यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग मन्त्रालयले सहकार्य गर्ने मन्त्री थापाको भनाइ छ । उहाँले यात्रुको आवतजावतका लागि सहजीकरण गर्न प्रहरीको सहायता कक्ष स्थापना गर्ने, टिकटको अनुगमन गर्ने लगायतका कामलाई पनि प्राथमिकतामा राखिएको बताउनुभयो । क्षतिग्रस्त राजमार्ग तथा सडकको मर्मतका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग सहकार्य गरिने मन्त्री थापाको भनाइ छ । दुर्घटनापछिको आपत्कालीन उपचारका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने पनि उहाँको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.