सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित छ– परराष्ट्रमन्त्री

भदौ २१, काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताउनुभएको छ ।

पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उहाँले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताउनुभयो । वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको आज यहाँ उद्घाटन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारमाध्यम जनताको भावनाको प्रतिनिधित्व गर्ने साधन भएकाले यसले प्रस्तुत गर्ने विषयवस्तु राष्ट्रहित, सामाजिक न्याय र समानतामा आधारित हुनुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो समय नेपाली मिडिया क्षेत्रमा सञ्चारसम्बन्धी अनेकन बहस तथा पक्ष र विपक्षमा बहस चुलिनु चुनौतीको विषय हो भन्दै उहाँले उठेका सवाललाई सामूहिक छलफलका माध्यमबाट समाधान निकालिनुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल राजनीतिक सङ्क्रमण पार गरी आर्थिक समृद्धिको दिशामा अघि बढेको सन्दर्भमा सञ्चारमाध्यमले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

लगानीकर्ताको स्वार्थबाट सम्पादकीय स्वतन्त्रता कसरी जोगाउने, विषयवस्तुमा विश्वसनीयता, निष्पक्षता र व्यावसायिकता अहिलेको चुनौतीको विषय बनेको उल्लेख गर्दै उहाँले संविधानले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रातालाई व्यावसायिकतासँग जोडर अघि बढ्न सके मात्र समृद्ध समाज निर्माण गर्न सकिन्छ भन्नुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सबै क्षेत्रको सक्रिय सहयोग चाहिने उहाँको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.