भदौ १५, काठमाडौं । तीजको अवसरमा पशुपति दर्शनमा आउने व्रतालुको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन ।
पशुपति क्षेत्र विकास कोषले तीज पर्वमा सुरक्षालाई ध्यान दिँदै पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको हो । यस्तै, सादा पोशाकका प्रहरी पनि खटाइएको छ । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर आउँदा गरगहना नलगाई आउन कोषले भक्तजनमा आग्रह गरेको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गा र कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ ।
सरकारी नम्बर प्लेटका सवारीसाधनलाई कोष कार्यालय र अन्यलाई अन्यत्रका स्थलमा पार्किङ गर्ने प्रबन्ध गरिएको कोषले जनाएको छ। पहिलो लाम गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिम ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै पश्चिम ढोकाबाट, तेस्रो लाम एयरपोर्ट–पिङ्गलास्थान–चार शिवालय हुँदै दक्षिण ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

