भदौ १०, बाँके । जिल्लामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगञ्जका सरकारी तथा निजी अस्पताल भाइरल ज्वरोका बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि बिरामीको उत्तिकै भीड छ ।
गर्मी र वर्षाका कारण भाइरल ज्वरोका बिरामीले अस्पतालका श्यया भरिएका छन् । गर्मी बढेसँगै यसक्षेत्रका नीजि तथा सरकारी अस्पतालमा पछिल्लो समय यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कनेलगायतका लक्षण देखिन थालेपछि अस्पतालमा बिरामीको भीड लाग्न थालेको छ । भाइरल ज्वरोका बिरामी धेरै रहेका भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको चाप बढेपछि एउटै बेडमा दुई बिरामी राखेर उपचारसमेत गर्नुपरेको छ । अस्पतालको आकस्मिककक्षमा समेत एउटै श्ययामा दुई÷तीन बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था छ । यी समस्याबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगी प्रभावित भएका उहाँले बताउनुभयो । बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
श्यया खाली नहुँदा भेरी अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर राख्न पनि समस्या भइरहेको छ । जसले गर्दा आएका बिरामीलाई अन्य निजी अस्पताल पुग्ने गरेका छन् । यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधोपचारमा लाग्न चिकित्सकको सुझाव छ । भाइरल ज्वरोबाट सबैभन्दा धेरै बालबालिका प्रभावित भएका बाल विशेषज्ञ डा रोमा बोराले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा दैनिक ५० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित बालबालिका आउने गरेका छन् । – रेडियो नेपाल

