भदौ १०, काठमाडौं । पछिल्लो समय नाक कान घाँटीको क्यान्सर बढी देखिनुमा ९० प्रतिशत सुर्तीजन्य पदार्थ र मद्यपान सेवन कारण हुने गरेको चिकित्सकहरुले बताएका छन् । यो क्यान्सर विश्वमा नै पाँचौ स्थानमा देखिएको छ ।
नेपालका विभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा पछिल्लो समय पुरुषमा फोक्सोको क्यान्सर, महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिने गरेको छ । त्यस्तै नाक कान घाँटीको क्यान्सरले केही वर्षमै धेरै नेपालीको ज्यान लिने रोग भएको नाका, कान घाँटीको क्यानसर रोग विशेषज्ञ डा. प्रभात चन्द्र ठाकुर बताउँछन् ।
“मुख र खाने नलीको देखिने क्यान्सरमा ९० प्रतिशत कारण सुर्तीजन्य पदार्थ र मद्यपान सेवन गर्ने मानिसमा देखिने गरेको छ,” उनले भने, “यो क्यान्सर जुनसुकै उमेर समूहका मानिसमा देखिने भए पनि विशेष गरी ८० प्रतिशतभन्दा बढी ५० वर्ष नाघेका व्यक्तिहरुमा देखिने गरेको छ ।” यो क्यान्सर महिलाको तुलनामा पुरुषहरुमा तीन गुणा बढी देखिने गरेको डा. ठाकुरले बताए । चिकित्सकहरु पछिल्लो समय युवाहरुमा समेत नाक, कान घाँटीको क्यान्सर देखिन थालेको बताउँछन् ।
त्यस्तै, निजामति अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सिमित सापकोटाले विश्वमा पछिल्लो समय नाक, कान, घाँटीको क्यान्सर बढी देखिएको बताए । तराई क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन बढी गर्ने भएकाले त्यस क्षेत्रका मानिसमा मुख क्यान्सरका बिरामी बढिरहेको क्यान्सर रोग विशेषज्ञहरु बताउँछन् । विभिन्न अध्ययन अनुसार नेपालमा वार्षिक नाक, कान घाँटीको क्यान्सरबाट करिब पाँच हजार जनाले ज्यान गुमाउने गरेको देखाएको छ । वार्षिक रुपमा करिब ३० हजार मानिसमा देखिने अनुमान विभिन्न अध्ययनले देखाएको छ । अमेरिकामा यो क्यान्सर चार प्रतिशत मानिसमा भएको बताइएको छ ।
लक्षणहरु
नाक भित्र मासु पलाएमा ।
स्वर भासिँदै गएमा ।
पिनासको समस्या पटक पटक दोहोरिएमा ।
खान निल्न समस्या भएमा ।
स्वास्प्रश्वासमा समस्या आउने ।
घाँटीको बाहिरी भागमा डल्लो देखिनु ।
दाँत हल्लिनु वा फुकालेको ठाँउमा घाउ देखिनु ।
सिंगानमा रगत देखिनु आदि ।
बच्ने उपाय
धुम्रपान तथा सुर्तीजन्य पदार्थ र मद्यपान सेवन नगर्ने ।
फाइबरयुक्त खानेकुरा खाने
फलफूल र हरियो सागसब्जीको बढी प्रयोग गर्ने ।
हरेक ६–६ महिनामा स्वास्थ्य चेकजाँच गर्ने ।
स्वस्थ जीवनशैली अपनाउने ।
नियमित व्यायाम गर्ने ।
कुनै पनि समस्या देखिएमा तुरुन्तै उपचारका लागि जाने आदि ।

