भदौ ९, रौतहट । राैतहटको गौर कारागारमा क्षमता भन्दा बढि कैदी बन्दीहरुलाई राखिएको छ । १९८९ सालमा स्थापना भएको गौर कारागारमा १ सय २० जनाको क्षमता रहेकोमा अहिले २ सय ९४ जना कैदीबन्दी छन ।
कैदीबन्दीहरुको संख्या बढ्दै गएकाले व्यवस्थापन गर्न गाह्राे भएको गौर कारागार कार्यालयको प्रशासन शाखाले जनाएको छ । कारागारको भवन जीर्ण रहेको र कैदीको संख्या बढ्न थालेपछि समस्या हुने गरेको कारागारका जेलर नायव सुब्बा शम्भु यादवले बताए ।
कारागारभित्र भवन निर्माण गरीएको भए पनि अपुग रहेको र व्यवस्थापनमा कठिनाइ हुने गरेको उनले गुनासो गरे । अहिले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेकाले सरल र सहज तरिकाले राख्न नसकिएको उनको भनाइ छ ।
जेलर यादवका अनुसार बर्षातको समयमा कैदी बन्दीहरुलाई धेरै समस्या हुने गरेको छ । भवन पुरानो भएकाले धेरै संख्यामा कैदीबन्दीहरुलाई राख्दा चुनौती रहेको छ । विभिन्न मुद्दामा कारागारमा रहेका कैदीबन्दीलाई व्यवस्थापन गर्न चुनौती भएको बेलामा संख्या बढ्दै जाँदा समस्या हुने गरेको उनकाे भनाइ छ ।
गौर कारागारमा कत्र्तव्य ज्यान, ज्यान मुद्दा, चेलीवेटी बेचबिखन, मावन ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागु औषध, सवारी ज्यान, बलात्कार लगायतका विभिन्न मुद्दामा आरोपीहरुले सजाय भुक्तान गरिरहेका छन ।
२ सय ९४ जना कैदीबन्दीहरुमा १२ जना महिला छन भने पुरुष तर्फ २ सय ८४ जना रहेको गौर कारागारले जनाएको छ । महिलाको संख्या न्युन रहेकाले समस्या नरहेको भएपनि पुरुष तर्फ भने त्रिपाल टाँगेर राख्नु पर्ने बाध्यता रहेको उनले बताए ।
देशका अधिंकाश स्थानमा रहेको कारागारमा क्षमता भन्दा बढि कैदीबन्दीहरु राखिने गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । उनका अनुसार राणाकालिन समयमा बनेको गौर कारागार पुरानो र जिर्ण बन्दै गएकोले अन्य स्थानमा कारागार बनाउने पहल भइरहेको छ ।

