भाद्र ०१, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीय संसदलाई सम्बोधन गर्नुहुने भएको छ । अपरान्ह दुई बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालय र सरकारको विषयमा उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने कार्यक्रममा रहेकाे उहाँको सचिवालयले जनाएको छ ।
स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएर स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीबाट हुन लागेको याे पहिलो सम्बोधन पनि हो । आज बिहान ११ बाट प्रतिनिधिसभा बैठक बस्दै छ । जसमा विभिन्न समितिमा सभापतिहरुले आफ्नो कार्यक्षेत्र भित्र पर्ने विभिन्न विषयमा विभिन्न प्रतिवेदनहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले ‘वन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नु हुनेछ । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठले ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ । श्रेष्ठले नै गत असार अन्तिम साता परेको अविरल वर्षाका कारण बाढी र डुबानबाट प्रभावित जिल्लाहरुको स्थलगत निरीक्षण तथा अनुगमन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक र बीउ विजन दोस्रो संशोधन विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

