साउन ३१, काठमाडौँ । गाईजात्राको पहिलो दिन आज बौद्धमा विविध कार्यक्रम गरी सुरुवात गरेको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि देशभर शुरु भएको छ ।

विशेष गरी नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन् । गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाइँदै छ । त्यस्तै बौद्ध परिसरमा पनि सा–साना बालबालिकालाई विभिन्न कलात्मक आकृतिले सिंगारिएरअभिभावकहरुले काँधमा बोकी परिक्रम गरेका छन् ।

प्रत्येक वर्ष झै बौद्धमा रहेका विभिन्न गुठीको आयोजनामा साँस्कृति संस्कार झल्किने गरी कार्यक्रम गरिने भएको छ । दुईदिनसम्म लाग्ने उक्त जात्रामा व्यवस्थित बनाउन नेपाल प्रहरी, बौद्ध क्षेत्र विकास समिति लगायत विभिन्न गुठीहरुले उल्लेख्य भूमिका निभाउने छ । जात्रामा रचनात्मक तथा व्यंग्यात्मक प्रस्तुति समेत प्रर्दशन गर्नेछ । प्रर्दशनमा विभिन्न विद्यालय, संघसंस्था तथा समुदायको सामुहिक प्रस्तुतिलाई मूल्यांकन गरी उत्कृष्ठ हुनेहरुलाई पुरस्कारको समेत व्यवस्थापन गरेको छ ।

शनिवार वृहत साँस्कृति कार्यक्रमका साथ बौद्ध परिसरभित्र उक्त पर्वको विधिवत रुपमा मनाइने भएको छ । जात्रामा लोक दोहोरी, बाजागाजासहित बौद्ध पिपलबोट, टुसाल सम्म प्रर्दशन हुने आयोजकले बताएको छ । विभिन्न संघसंस्थाले रक्तदान कार्यक्रम, निःशुल्क खानेपानी खुवाउने लगायत सुरक्षाका प्रवन्ध समेत मिलाएको छ ।

गाईजात्राको प्रमुख आकर्षण घिन्ताङकिसी र माक प्याख नाच भएकाले गाईजात्रा हेर्न यहाँ भीड लागेको छ । आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ ।




