प्रधानमन्त्रीको स्वास्थ्य सामान्य: भेटघाट र बैठक शुरु

साउन ३१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बैठकमा सहभागी हुनुहुन्छ । गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओली बिहीबार ज्वरोका कारण सामान्य अस्वस्थ्य हुनुभएका कारण नेकपाको बैठक सरेको थियो । झापाली कार्यकर्तालाई ओलीले ताजगी मुद्रामा सोध्नुभयो, “म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो ?” उहाँले ती कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको जनाउनुभएको उहाँका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताउनुभयो ।

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।” प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भन्नुभयो, “गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हुँदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।” – रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.