युवा सामर्थ्यको उपयोग

रमेश शुभेच्छु युवा पुस्ताका प्रखर वक्ता, कवि एवम् लेखक हुनुहुन्छ । उहाँलाई प्रारम्भ खबरले साहित्य संस्कृति प्रारम्भ सम्मान प्रदान गरेको थियो । सञ्चार क्षेत्रमा टीकाराम यात्री, शिक्षा क्षेत्रका अजय अधिकारी सुशील र उहाँ एउटै मञ्चमा सँगै सम्मानित हुनुभएको थियो । उहाँ आफैमा प्रखर र अभिप्रेरक वक्ता पनि हुनुहुन्छ । उहाँले सम्मानित प्रतिभाका तर्फबाट सभालाई सम्बोधन गर्ने क्रममा युवा उर्जा र सामथ्र्यका विषयमा, पत्रकारिताका विषयमा, अनलाइन सञ्चार माध्यमका विषयमा पनि बोल्नुभएको छ । हामीले उहाँको त्यही मन्तव्यको उतार यस साताको अभिप्रेरक सामग्रीका रुपमा प्रकाशन गरेका छौँ ।

प्रारम्भ खबरको वार्षिकोत्सवका सभाध्यक्षज्यू,
प्रमुख अतिथि पूर्वमन्त्री एवम् माननीय शेरबहादुर तामाङज्यू,
मसँगै सम्मानित आदरणीय सञ्चारकर्मी टीकाराम यात्रीज्यू,
हामीसँगै सम्मानित अर्का विशिष्ट प्रतिभा अजय अधिकारी सुशीलज्यू,
आदरणीय कलाकार श्रीकृष्ण सिम्खडाज्यू,
युवा राजनीतिकर्मी गणेश लामाज्यू,
आज कदरपत्रद्वारा सम्मानित फरक फरक क्षेत्रका युवा प्रतिभाहरू
कार्यक्रममा सहभागी मञ्चासिन एवम् सभाहलमा उपस्थित आदरणीय अग्रजहरु,
यस मिडिया र अन्य मिडिया संवद्ध पत्रकार बन्धुहरु
सहभागी दाजुभाइ दिदीबहिनीहरूसबैमा हार्दिक न्यानो अभिवादन ।

प्रारम्भ खबरले एक वर्षको घामपानी पुरा सहन सकेकामा र वार्षिकोत्सव मनाउन सकेकामा हार्दिक बधाई । यसका सञ्चालक भीम लामाको पनि आज जन्म दिनहो उहाँलाई पनि हार्दिक बधाई । म यस संस्थाको जन्मदेखि आजसम्मको अवस्थालाई नजिकबाटै निहालिरहेको छु । यसको उद्घाटन समारोहमा पनि म उपस्थित थिएँ । माननीय तामाङज्यू त्यसबेला बहालवाला मन्त्रीका हैसियतले प्रमुख अतिथि हुनुहुन्थ्यो । आज उहाँबाटै यसको बार्षिकोत्सव समारोहको वत्ती बलेको छ ।

टीकाराम यात्रीज्यूले युवा सञ्चारकर्मी भनेको मनपर्दैन भन्नुभयो । मलाई युवा साहित्यकार भनेकामा त्यति अनौठो लागेन । युवा उमेरको संचारकर्मी युवा सञ्चारकर्की । युवा उमेरको साहित्यकार युवा साहित्यकार । युवा उमेरको उद्यमी युवा उद्यमी, युवा उमेरको शिक्षासेवी युवा शिक्षासेवी । यसरी पनि बुझ्न सकिन्छ र यस मिडियाले बुझेको पनि त्यसरी नै हो भन्ने मलाई लाग्छ । मलाई युवा साहित्यकार भनेकामा गौरव छ । हाम्रो मुलुकले अहिलेसम्म ४५ वर्षसममको उमेरलाई युवा उमेर नै मानेको छ । अब ३५ वर्षमा झार्ने हो कि भन्ने छलफल हुँदै गरेको थाहा पाएको छु । वर्षले केही फरक पार्दैन १५—१६ देखि ४५—५० सम्म मान्छेले पूर्ण क्षमताका साथ, युवा उर्जाका साथ काम गर्न सक्छ ।

म मेरो मन्तव्यलाई औपचारिकता भन्दा पनि यही युवा विषयमा जोडूँ जस्तो लाग्यो हाम्रो मुलुक पछि परेकै युवा जनशक्ति नचिनेर, युवा सामथ्र्य नपहिल्याएर, युवा सशक्तीकरण नगरेर हो । जुन मुलुकले युवा सामथ्र्यको सही सदुपयोग गर्न सक्यो त्यो मुलुकले विश्व जितेको छ, विश्वलाई शक्तिमा मात्र होइन चेतनामा पनि पनि जितेको छ । युद्धमा पनि जितेको छ । प्रविधिमा पनि जितेको छ । व्यापार र आर्थिक उन्नतिमा पनि जितेको छ । चिनले युवा जनशक्तिको प्रयोग गरेर विश्वमा आफूलाई सम्पन्न बनायो । रुसले युवा जनशक्तिको प्रयोग गरेर क्रान्ति सफल बनायो । यो अवस्था विश्वका धेरै मुलुकम देखिन्छ ।

हाम्रै इतिहास पल्टायौँ भने युवा सामथ्र्यको प्रयोगसम्बन्धी अनेक प्रमाण भेटिन्छन् । यस देशका राजाहरुले प्राय युवा उमेरको प्रधानमन्त्री बनाएर आफ्नो राजकाज चलाएको र शक्ति सन्तुलन गरेको इतिहास छ । सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, तुलसी गिरी, कृतिनिधि विष्ट आदिको प्रधानमन्त्री काल हामी जस्तै युवा उमेरको थियो । पशुपति शमशेर राणा, कमल थापा, शेरबहादुर देउवा, केपी शर्मा ओली आदि हाम्रा उमेरका जिम्मेवार मन्त्री थिए । पुष्पलाल श्रेष्ठ, वी.पी कोइराला, मदन भण्डारी झलनाथ खनाल, माधव नेपाल, यस आधारमा हेर्यो भने आज भन्दा हिजो युवा उमेरको उर्जालाई राजनीति र सामाजिक क्षेत्रमा उपयोग गरिन्थ्यो । त्यो परम्परा अहिले केही कमजोर बनेजस्तो देखिन्छ । युवा विद्यार्थी नेता नै देश हाँक्ने नेता बनेका धेरै उदाहरण छन् । आज बरु युवाहरुलाई उत्साह दिन केही कन्झुस्याइँ हुँदै छ कि जस्तो लाग्छ । यस्तो सन्दर्भमा आज यस सञ्चारमाध्यमले युवैयुवा प्रतिभाहरुलाई खोजेर सम्मान गरेको छ । यो प्रतिभा छनोटको क्रम हेर्दा प्रतिभा होइन सम्मान गर्ने संस्था नै सम्मानित भएको बोध मैले गरेको छु । टीकाराम यात्री जस्तो पत्रकार मित्रको छनोट आफैमा विशिष्ट छ । योग्यमा पनि योग्य छनोट भएको छ । योग्यमध्येको पनि योग्य छनोट भएको छ । अनेक आर्जनका सम्भावना छाडेर समता स्कुलका प्रअ भएर शिक्षासेवा गर्ने अजय अधिकारी जस्ता प्रतिभा छान्नु निस्वार्थी छनाइ हो भन्ने मेरो बुझाइ छ । उहाँहरूजस्ता प्रतिभासँग यस सञ्चारमाध्यमको केही लिनुदिनु छ जस्तो मलाई लाग्दैन । मसँग झन् केही पनि लिनुदिनु छैन । यसरी स्वतन्त्र ढङ्गले प्रतिभा छनोट र सम्मानलाई मैले विशेष पक्षका रुपमा लिएको छु । बरु आफ्नै सन्दर्भमा योगदान भन्दा ठूलो पठरी पाएको जस्तो ठानेको छु ।

मैले रोजेको क्षेत्र आफैमा जटिल क्षेत्र हो । यस्तो क्षेत्रको त्यति चाम पनि हुँदैन जति अरू क्षेत्रको हुन्छ । तर यस क्षेत्रमा टिकिरहन गम्भीर साधनामा लागिरहनुपर्छ । हाम्रो क्षेत्र र कर्म सेलिब्रेटी बनेर छौडने भन्दा पनि ऋषिकर्म हो । हामी देखिन र चर्चामा आउन भन्दा मौन साधनामा रमाउँछौँ । मौन सिर्जनामा रमाउँछौँ । अक्षरहरुसँग वहस गर्छौँ । त्यस्तो मौन साधनामा रहेको म जस्तो सामान्य मानिसलाई साहित्य संस्कृति क्षेत्रको सम्मान अर्पण गरेकामा संस्था र संस्थासंबद्ध पदाधिकारीहरुमा धन्यवाद भन्छु, आभार चढाउँछु । आज हाम्रो समाज शक्तिका पछाडि दौडिइरहेको छ । राजनीतिक शक्ति, प्रशासनिक शक्ति र अन्य शक्तिका पछाडि वेपत्तासँग भौतारिइरहेको छ । यस विषयलाई लिएर मैले कविको वर्गीकरण शीर्षकमा एउटा व्यङ्ग्य निबन्ध पनि लेखेको थिएँ । आज मेरा सट्टामा कुनै मेयर कवि, कुनै संसद् कवि, कुनै प्राज्ञकवि, सचिव उपसचिव वा अधिकृत कवि सम्मानित हुने हो भने संस्थालाई केही फाइदा पनि हुन्थ्यो होला । तर संस्थाले मेरो आत्मविश्वास बढाउन नै होला म जस्तो स्वतन्त्र व्यक्तित्वको छनोट गर्यो । अघि बोल्ने क्रममा यात्रीजी स्वतन्त्र पत्रकारिताको कुरा गर्दै हुनुहुन्थ्यो । म पनि स्वतन्त्र लेखक नै हुँ । मेरा केही विचार दर्शन छन् तर ती पनि स्वतन्त्रता र मानवता भन्दा माथि छैनन् ।  मलाई यस सम्मानले अझ आफ्नो क्षेत्रमा लागिरहन हौसला मिलेको छ । थप अगाडि बढ्न अभिप्रेरित गरेको छ । थप साधना गर्न सघाएको छ । आफ्नो मार्गबाट अविचल हिँड्न सघाएको छ । सम्मान लिने नलिने मेरो स्वभावबारे म मौन रहेँ । आदर साथ सम्मान गर्छ कसैले भने मैले पनि हार्दिकतासाथ आदरसाथ लिने गरेको छु । आज पनि त्यसै गरेको छु ।

म अघि भन्दै थिएँ युवा प्रतिभाको र युवा सामर्थ्यको पहिचान र प्रयोगका बारेमा । हाम्रा राजनीतिक दलहरूआआफ्ना युवा सङ्गठनबाट शक्तिशाली बनेका छन् । एमालेको युवा सङ्घ, माओवादीको वाइ सी एल, नेपाली काङ्ग्रेसको तरुण दलको सामर्थ्यअनुसार त्यो दलको हैसिय बनेको इतिहास छ । यी दलका विद्यार्थी संगठनको योगदानलाई पनि हामीले राम्ररी हेरेका देखेका छौँ । अधिकांश वैज्ञानिकहरुका आविष्कार युवा उमेरमा प्रभावकारी बनेका, अधिकांश लेखकले युवा उमेरमा गहन र विश्वप्रसिद्ध कृति लेखेका, अधिकांश कलाकारले युवा उमेरमा उत्कृष्ट कला रचना गरेका उदाहरण हामीसँग छन् । देवकोटाले आफ्ना प्राय सबै महाकाव्य चालिस वर्षको उमेरमा लेखिसकेका थिए । मोदनाथ प्रश्रित र पारिजातले पच्चीस वर्ष नपुग्दै मदन पुरस्कार जितिसकेका थिए र त्यत्तिकै गहन कृति पनि लेखिसकेका थिए । मोतीराम भट्टले जम्मा २९ वर्षको आयु बाँचेर अनेक कृति दिइसकेका थिए । मदन भण्डारी चालिस वर्षकै उमेरमा शक्तिशाली नेता बनिसकेका थिए । वी. पी कोइराला पनि देशको प्रधानमन्त्री बन्दा जम्मा ४६ वर्षका मात्र थिए । यी केही उदाहरण हुन् । यस्तो सामर्थ्य चिनेर सम्मान गर्नु संस्थाको पनि सामर्थ्य हो ।

मलाई लाग्छ मैले लिएको क्षेत्र भन्दा सञ्चारको क्षेत्र बढी जिम्मेवार छ । भीम र राजेशजीहरुले युवा उमेरमै यो सञ्चारमाध्यम सञ्चालनको सपना देख्नुभयो । यस किसिमको अनलाइन मिडियालाई आजसम्मकै कान्छो र बहुमुखी मिडिया मानिन्छ । यो प्रशारण र प्रकाशन दुवै माध्यमलाई समेट्ने ती माध्यमभन्दा विकसित मिडिया हो । यसले छरिएर रहेका दर्शक, पाठक, श्रोता आदिलाई समेट्न सक्छ । सञ्चारको एकतर्फी सामर्थ्यलाई अनलाइनले दोहोरो सामथ्र्यमा बदलिदिएको छ । यस माध्यममा प्रत्यक्ष रुपमा प्रतिक्रिया पनि आउँछन् । लोकप्रियताको मापन पनि हुन्छ । विश्वमा पुराना इतिहास बोकेका पत्रिकाले छापा संस्करण बन्द गरेर अनलाइन संस्करण सुरु गरेका इतिहास हामीले देखेका छौँ । यो अग्रगामी बाटोमा प्रारम्भ खबर निरन्तर अविचल अगाडि बढिरहोस् । पुन ः शुभकामना ।

 

गत वर्ष प्रारम्भ खबरको उद्घाटनमा माननीय शेरबहादुर तामाङज्यू प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यसबेलाको साक्षी बसाइदेखि मेरा थुप्रै लेखरचना प्रकाशन हुँदै खबर लिनका लागि पनि यो सञ्चार माध्यम सहायक बनेको छ । सुधार गर्नुपर्ने, बनाउनुपर्ने कुराहरूथुप्रै छन् तर तिनलाई एकै वर्षको छोटो यात्रामा पूर्ण गर्न सकिने अवस्था रहँदैन । अब अझ संगठित भएर अझ चुस्त दुरुस्त रुपमा समाचार प्रवाह गर्न सक्ने सामथ्ग्र्य मिलोस् भनी शुभकामना व्यक्त गर्दछु । आम सञ्चारका अर्थमा यस संचार माध्यमले आफ्नो साख बलियो बनाउन सकोस् भन्ने कामना व्यक्त गर्दछु । आम सञ्चारको क्षेत्र व्यापक हुन्छ । हामी लेखकहरूहामीले रोजेको विषय र क्षेत्रमा सीमित हुन सक्छौँ । मिडियाका साथीहरुले अनेक क्षेत्रलाई समेट्नुपर्ने हुन्छ । सञ्चार क्षेत्र, शैक्षिक बौद्धिक क्षेत्र, सामाजिक क्षेत्र, सांस्कृतिक क्षेत्र, राजनीतिक क्षेत्र, भौगोलिक क्षेत्र आदि सबै क्षेत्रमा पुग्नुपर्ने हुन्छ । आज देशलाई समाजलाई र संस्कृतिलाई आक्रमण गर्ने वाह्य शक्ति निष्कृय प्राय बन्दै आन्तरिक साइबर रणनीतिहरु, व्यावसायिक रणनीतिहरूउपयोग भइरहेका छन् । साइबर अपराधका घटनाहरूअगाडि आइरहेका छन् । भ्रष्टाचार, अपराध आदिका नयाँ नयाँ स्वरुपहरुमा घटिरहेका छन् । हिजोका म्यानपावरहरूशैक्षिक कन्सलट्यान्सी बनिरहेका छन् ।

भाषिक सांस्कृतिक अतिक्रमणले देश थिलथिलो बनिसकेको छ । यस्तो बेला देश निर्माणको, देश रक्षाको, समाज निर्माणको समाज रक्षाको, सामाजिक सुरक्षाको अदि बहुमुखी भूमिकामा पनि सञ्चार माध्यमको भूमिका देखिने बेला आएको छ । भन्नलाई चौथो अङ्ग भनिए पनि यसको भूमिका पहिलो दोस्रो अङ्गकै रुपमा स्थापित हुनुपर्ने देखिन्छ । हिजो हामीले आम सञ्चार माध्यममा पढेका र पढाएका निगरानी, मीमांसा, संयोजन, मान्यता हस्तान्तरण जस्ता सीमित बुँदामा समेटेर आम सञ्चार माध्यमका कार्य पूर्ण हुने अवस्था अब छैन । प्रतिष्पर्धा त्यतिकै छ । दर्शक स्रोता र पाठकको सामग्री छनोट र ग्रहण क्षमता त्यतिकै विकास भएको छ । अघि यात्रीजीले सङ्केत गरेको विभाजन र हिलो छ्यापाछ्यापको अवस्था झन् गम्भिर छ । कपीराइटको समस्या झन् गम्भीर बनेको छ । दशवटा अनलाइन समाचार दाँजेर हेर्यो भने उस्तै देखिने कपी पेस्टको समस्या कहालीलाग्दो छ । मृत्यु जस्ता घटना, हत्या, बलात्कार जस्ता गम्भीर अपराध, राष्ट्रियताव्यता, गोपनीयता, व्यक्ति चरित्र सम्बन्धी समाचार आदिमा समस्या छ । वसायिकताको समस्या उस्तै छ । यी समस्यालाई चिरेर समाजमा सकारात्मक प्रभाव पार्न सक्ने पत्रकारिता गर्नुहोस् पुनः शुभकामना ।

मैले यहाँ एउटा सत्य बोल्नै पर्छ । यस सञ्चार माध्यमका सञ्चालक भीम लामा मेरा स्नातक तहका नेपाली भाषा साहित्य र सञ्चारका शिष्य पनि हुनुहुन्छ । उहाँले र उहाँको टिमले मलाई सम्झना गरी सम्मान गर्नुभयो । आफ्नो सरलाई सम्मान गर्छु भनेर त म सम्मानित भएको पक्कै पनि होइन होला । यो सम्मान भीमजी र मेरो सम्बन्ध, चिनाजानी आदि भन्दा माथि छ भन्ने विश्वास मैले लिएको छु । मलाई सम्मान अन्यत्रबाट पनि सयौँ ठाउँबाट प्राप्त भइरहेको छु । मलाई यस सम्मानले फुक्र्याएर बिगार्दैन बरु जिम्मेवार बनाउँछ । अब सोझो भाषा बोलूँ मेरा प्रिय शिष्य भीमजीलाई जन्म दिनको अनेकौँ शुभकामना । उत्तरोत्तर सिर्जनशील जीवनयात्राको र प्रगतिको कामना । यस संचार माध्यमलाई पनि अनेकौँ बधाई र उत्तरोत्तर प्रगतिको कामना ।

माननीय शेरबहादुर तामाङज्यू कानुन मन्त्री छँदा यस सञ्चरा माध्यमको उद्घाटन गर्नुभएको थियो । आज हाम्रो प्रमाणपत्रमा झलनाथ खनालको हस्ताक्षर रहे पनि उहाँकै हातबाट हामीले यो विशेष सम्मान पायौँ । उहाँको निष्ठापूर्ण राजनीतिक यात्रा अझ सशक्त बन्न सकोस् भन्ने कामनाका साथ हामीलाई दिएको सम्मानको कदर गर्ने वचन राख्दै विदा लिन्छु । धन्यवाद ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.