पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला भयोः नेता भुसाल

साउन १८, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् ।

प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा  नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको बताए । उनले अब पार्टीभित्रको गुट–उपगुट त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए ।  “जनयुद्ध र सबै खालका आन्दोलन तथा वर्ग सङ्घर्षका भोगाइबाट नेपाली मोडलको समाजवाद निर्माणको बाटो अहिलेको पुस्ताले कोर्नुपर्छ”, नेता भुसालले भने, “अब अलमल गरेर बस्ने होइन ।”

चुनाव जित्ने र सत्तामा पुग्ने मात्र पार्टीको सपना भए अझै १० वर्षसम्म केही नगर्दा पनि हुने भन्दै उनले समाजवाद पुग्ने हो भने नेपाली मोडलको कार्यदिशा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिए । “इतिहासमा यो गर्यौं भनेर अल्झिने हो भने समाजवादमा पुग्न सकिँदैन, इतिहासबाट सिकेर अब यसरी अगाडि बढ्ने हो भनेर सबै कार्यकर्तालाई भन्न सक्नुपर्छ”, उनले भने, “त्यसका लागि पार्टीभित्रको गुट–उपगुटमा अल्झिएर बस्नु हुँदैन ।” नेता भुसालले अहिले नेपाल कम्युनिष्ट पार्टीलाई जनताले लेकमा पुर्याएको व्यङ्ग्य गर्दै एकैपटक तराईबाट लेकमा पुग्दा पार्टीको जीवन लेकमा समायोजन हुन केही समस्या र अप्ठ्यारा आउनु स्वाभाविक भएको तर्क गरे ।

“जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेक पुग्दा केही त्यहाँको वातावरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा भएको पनि त्यस्तै मात्र हो, अरु ठूलो समस्या छैन”, उनले भने ।  नेता भुसालले १५ दिनभित्रमा सकिने जिल्ला कमिटीको एकताको काम टुङ्ग्याउन १५ महिना लगाउने काम गलत भएको बताए ।  “अखिर १५ दिनमै सकिने रहेछ, त्यति कामका लागि हामीले १५ महीना लगायौँ, यसले राम्रो सन्देश जाँदैन, उनले भने, “यस्ता खालका कमीकमजोरी अब हुन दिनु हुँदैन ।” रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.