बिआरआईबाट दुवै देश लाभान्वित हुनुपर्छः उपराष्ट्रपति

साउन ९, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनका राष्ट्रपति सि चिनफिङले अगाडि सार्नुभएको अवधारणा ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बीआरआई)मा सहभागी हुन पाउनु नेपालको लागि गौरवको विषय भएको बताउनुभएको छ ।

चीनको यूनान प्रान्तका उपगभर्नर चाङ कुवहुयले आज ग्रीनहाउसमा गर्नुभएको शिष्टाचार भेटमा उहाँले भन्नुभयो, “बीआरआईमा नेपाल जोडिएको छ, यसले दुवै देशलाई उचित लाभ दिनुपर्छ ।” उपराष्ट्रपतिले वैदेशिक लगानीका लागि नेपालमा अनुकूल वातावरण रहेको उल्लेख गर्दै चिनियाँ लगानीका लागि आग्रह गर्नुभयो ।  “हामी समृद्ध नेपाल, सुखी नेपालीको नाराका साथ आर्थिक विकासतिर अगाडि बढेका छौँ”, उहाँले भन्नुभयो, “नेपालको विकास र समृद्धिका लागि आन्तरिकका साथै वैदेशिक लगानीको खाँचो छ । यसमा चिनियाँ लगानीकर्ताले अधिकतम लगानी गर्ने अपेक्षा लिएका छौँ ।” उहाँले कृषिको आधुनिकीकरण, पर्यटन पूर्वाधारको विकास, जडीबुटीको प्रशोधन, खनिज पदार्थको उत्खनन र भौतिक पूर्वाधार निर्माण विकासका प्राथमिकता भएको उल्लेख गर्दै यी क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

भेटमा उपगभर्नर चाङ कुवहुयले नेपालसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न पाउँदा चीन र यूनान प्रान्त खुशी रहेको बताउनुभयो । उहाँले राष्ट्रपति सिले यूनान प्रान्तलाई दक्षिण एशिया र पूर्वी एशियाका राष्ट्रहरुसँग चीनको सम्बन्धको गन्तव्य बनाउनुपर्ने धारणा लिएको उल्लेख गर्दै सोहीबमोजिम काम भइरहेको बताउनुभयो । उहाँले यूनान प्रान्तले नेपालमा जलविद्युत् निर्माणका लागि लगानी गरिरहेको र थप लगानी गर्न लागेको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.