रमेश शुभेच्छु युवा पुस्ताका चर्चित कवि एवम् समालोचक हुन् । उनी शिक्षक र प्राध्यापक मात्र होइनन् राम्रा प्रशिक्षक र अभिप्रेरक वक्ता पनि हुन् । उनले विद्यालय–विद्यालय र महाविद्यालय–महाविद्यालय पुगेर अनेक अभिप्रेरक मन्तव्य राखने गरेका छन् । २००६ औँ भानुजयन्तीका सन्दर्भमा काठमाडौँको काँडाघारीस्थित अक्षरा रुकुलमा उनले दिएको भाषणको पूर्ण उतारलाई हामीले यस हप्ताको प्रेरक लेखकका रुपमा यहाँ प्रस्तुत गरेका छौँ ।
२०६ औँ भनुजयन्ती समारोहका सभाध्यक्ष एवम् यस विद्यालयका प्रधानाध्यापक अञ्जुृ भट्टराईज्यू ,
यस समारोहका प्रमुख अतिथि आदरणीय अग्रज साहित्यकार, काव्य क्षेत्रका मेरा आदरणीय गुरु भूवनहरि सिग्देलज्यू,
मेरा त्यत्तिकै आदरणीय अग्रज साहित्यकार शिक्षासेवी व्यक्तित्व पुरुषोत्तम सिग्देलज्यू,
यस विद्यालयमा आफ्ना बालबालिकाका प्रतिभा हेर्न पाल्नुभएका आदरणीय अभिभावकहरू,
विद्यालयका सहायक प्राचार्य, कार्यक्रम संयोजक, कर्मचारी मित्रहरू
आफू छायामा बसेर आज विद्यार्थीलाई यसरी मञ्चमा उभिएर प्रतिभा देखाउन सक्ने सामथ्र्य प्रदान गर्ने शिक्षक साथीहरू
कार्यक्रममा प्रतियोगीका रुपमा र सहभागीका रुपमा उपस्थित विद्यार्थी भाइबहिनीहरू
सञ्चारकर्मी मित्रहरू
यहाँहरू सबैमा हार्दिक न्यानो अभिवादन ।

मैले यो विद्यालयको नाम सुन्दैदेखि यस विद्यालयप्रति आदर जागेको थियो । अमेरिकाका सहरका नाममा विद्यालयको नाम राख्ने होडबाजी चलेका बेला, विश्वप्रसिद्ध फुटबल क्लबका नाममा र विदेशी नागरिकका नामममा विद्यालयको नामकरण गर्ने परम्परा रहेका बेला, विदेशी देशलाई नै आफ्ना स्कुलको नाम राख्न पाउँदा गर्व गर्ने स्कुल सञ्चालकहरू मौलाएका बेला यस विद्यालयको नाम अक्षरा स्कुल भनेर नेपाली भाव झल्कने गरी राखेको पाएर म प्रभावित भएको थिएँ । यस विद्यालयका प्रधानाध्यापकज्यूलाई स्कुल स्थापना हुनुपूर्वदेखि नै चिन्दै पनि आएको थिएँ । यस विद्यालयका सञ्चालक राधेश्याम खड्का सरलाई धेरै पहिलादेखि चिन्छु । भाइस प्रिन्सिपल सरलाई पनि धेरै अगाडिदेखि चिन्छु । पछि यस विद्यालयसँग म बहुकोणबाट समेटिन पुगेँ । अहिले म यहाँको अभिभावक पनि हुँ । यस अर्थमा यो विद्यालय मेरो विद्यालय पनि हो । यस विद्यालयमा उपस्थित भएर यति भव्य र सभ्य कार्यक्रममा केही विचार राख्न पाउँदा गौरब बोध गरेको छु । विद्यालय परिवारप्रति आभारी छु । कृतज्ञ छु ।
आज म यस विद्यालयको यही कार्यक्रमको यही मञ्चमा यही भूमिकामा चौथोपटक उभिएको छु । पहिलो पटक मेरा आदरणीय गुरु प्रा. डा वासुदेव त्रिपाठीज्यूसँग उभिएको थिएँ । दोस्रो पटक अर्का आदरणीय गुरु प्रा. राजेन्द्र सुवेदीज्यूसँग उभिएको थिएँ । तेस्रोपटक अर्का आदरणीय गुरु प्रा. घनश्याम कँडेलज्यूसँग उभिएको थिएँ । आज कविताका गुरु भुवनहरि सिग्देलसँग उभिएको छु । एक किसिम प्रमुख अथिति छनोट गर्न यस विद्यालयले मलाई विश्वास गरेको छ । म पनि सोही विश्वासअनुरुप एक एक जना विशिष्ट सम्मानित प्रतिभासहित उपस्थित भइरहेको छु ।
मलाई यस विद्यालयका मनपरेका अन्य पक्ष पनि छन् । यहाँ बच्चालाई अरु विद्यालयमा भन्दा फरक ढंगले पढाइन्छ । साकाहारी भोजन गराइन्छ । विद्यालयको पोसाक पनि वैज्ञानिक लाग्छ । सिँगान पुछ्न नजान्ने बच्चालाई टाइ लगाइदिने होडबाजीका विच टाइमुक्त पोसाक प्रयोग गरिन्छ । यस विद्यालयका हलहरूको नाम पनि मोती हल र अभि थिएटर भनेर नामाकरण गरिएको छ । विशिष्ट प्रतिभा भएका शिक्षकहरू छनोट गरेर राखिन्छ । यी यस विद्यालयका मलाई प्रभाव पार्ने पक्षहरू हुन् ।

आज मलाई लेखनका लागि अभिप्रेरक मन्तव्य राख्न भनिएको छ । अग्रजहरूका अगाडि खुलेर बोल्न त्यति सजिलो हुँदैन तर म विद्यालयको अपेक्षा, शिक्षक साथीहरूको अपेक्षा र विद्यार्थीको जिज्ञासाअनुसार केही कुरा राख्दैछु । लेखन मूल सिर्जना हो । हामी रेडियोमा गीत सुन्छौँ, टेलिभिजनमा गीत हेर्छौँ । त्यो गीत नलेखिएको भए कसले संगीत भथ्र्यो, त्यो गीत नलेखिएको भए कसले गाउँथ्यो, कसले भिडियो बनाउँथ्यो? कसले अभिनय गथ्र्यो ? यी सारा काम गराउने पहिलो सर्जक, पहिलो कलाकार, पहिलो जनक लेखक हो । हामी चलचित्र हेर्छौँ । त्यहाँ अभिनय गर्ने हिरो हिरोइनलाई जीवन्त पाएर रमाउँछौँ । त्यहाँ बज्ने गीतलाई आफ्नो गीत बनाएर गुन्गुनाउँछौँ । भरपुर मनोरञ्जन लिन्छौँ, ज्ञान पनि लिन्छौँ तर त्यसकापछाडि कथा, पटकथा लेखक हुन्छन् । संवाद लेखक हुन्छन् । गीत लेखक हुन्छन् र हामी त्यसरी रमाउन पाउँछौँ । म यहाँ अतिथिहरूले बुझ्ने भाषा होइन विद्यार्थीले बुझ्ने भाषा बोल्न प्रयत्न गर्दैछु । शिक्षकले बुझ्ने होइन विद्यार्थीले बुझ्ने भाषा बोल्ने प्रयत्नमा छु । आजको तपाइहरूको पुस्ता हामी भन्दा भाग्यमानी पुस्ता हो । बहुमुखी अवसर प्राप्त गरेको पुस्ता हो । तपाईँहरूले सिक्न खोज्नुभयो भने धेरै कुरा तपाईँकै वरिपरि तपाईँसँगै तपाईँका घरमै यत्रतत्र छन् । आज रामायण चलचित्र बनेर आएको छ । आज महाभारत चलचित्र बनेर आएको छ । आज तपाईँहरू युटुवमा खेजी गर्नुभयो भने रामायणका पत्र पात्रका कथा भेट्टाउनुहुन्छ । हनुमान खोज्नु होस् हनुमानकै कथा भेट्टाउनु हुन्छ । सीता खोज्नु होस् सीताकै कथा भेट्टाउनुहुन्छ । राम खोज्नु होस्, रामकै कथा भेट्टाउनुहुन्छ, लक्ष्मण खोज्नुहोस् लक्ष्मणकै कथा भेट्टाउनुहुन्छ । अर्जुनको कथा खोजे अर्जुनकै कथा भेट्टाउनुहुन्छ, एकलव्यको कथा खोजे एकलव्य नै भेट्टाउनुहुन्छ । जुन पात्र खोज्यो त्यही पात्र भेट्टाउनुहुन्छ । ती पात्रका सर्जक व्यास र बालमीकिहरू थिए । ती कथाका मूल स्रष्टा व्यास र बाल्मीकिहरू थिए । उनीहरूले रामायण महाभारत नलेखिदिएको भए तपाईँ हामी के हेथ्र्यो ? जति पनि गीत बज्छन्, जति पनि कथा सुनिन्छन्, जति पनि चलचित्र, लघुचलचित्र बनिन्छन्, कार्टुनचित्र र विज्ञापनचित्रहरू बन्छन् तिनका मूल सर्जक लेखक हुन्छन् । लेखकले लेखेकैले तिनीहरूलाई विविध विषय र विधामा लान सकिएको हो । पुनः पुनः सिर्जना गर्न र बनाउन सकिएको हो । इहितास, पुराण, ज्ञान विज्ञानका सारा कुराहरू कसैको लेखनबाट हामीले प्राप्त गरेका हौँ । त्यसैले लेखन मूल कला हो । लेखन बौद्धिक कला हो ।
के लेख्ने ? प्रश्न हुन सक्छ । कसरी लेख्ने ? प्रश्न हुन सक्छ । कहाँ र कहिले लेख्ने प्रश्न हुन सक्छ । लेख्ने विषय तपाईँका वरिपरि जताततै छन् । यतिको विद्यालयमा पढ्ने विद्यार्थीका घरमा बिहानै कुनै दिदीले दुध लिएर आउनुहुन्छ होला ? सम्झनुहोस् यो दुध बेचेको पैसाले दिदीले केके गर्नुहुन्छ होला ? उहाँले पनि तपाईँले जस्तै छोराछोरीलाई पढाउनुहुन्छ होला ? तपाईँको घरमा धन्दा गर्न आउने दिदी हुनुहोला ? उहाँलाई हेर्नुहोस् र सम्झनुहोस् उहाँले पनि यो काम आफ्ना छोराछोरी पाल्नका लागि गर्नुभएको हो । तपाईँका घरमा ड्राइभरदाइ हुनुहुन्छ होला ? हुनुहुन्छ भने सम्झनुहोस् उहाँले पाउने तलब सम्झनुहोस् र उहाँका पनि तपाईँ जस्तै छोराछोर िछन् भन्ने सम्झनुहोस् । अनि कल्पना गर्नुहोस् त्यो तलबले केके गर्नुहुन्छ होला ? यी हरेक विषय कथा बन्न सक्छन् । यी हरेक विषय कविता बन्न सक्छन् । आफ्नै बाआमालाई सोध्नुहोस् । बुबा तपाईँ बालक छँदा परिवारमा कस्तो थयो ? तपाईँ कसरी यहाँ आइपुग्नुभयो ? तपाईँले किन त्यो जागिर छोडेर यो जागिर गर्नुभयो ? तपाईँका बुबाआमाको जीवन कस्तो थियो ? त्यहीँ लेख्ने विषय भेटिन्छ । कोही पनि सहजमजमा बसाईँ सरेको हुँदैन । कसैले पनि एउटा जागिर छोडेर सहज अवस्थामा अर्को जागिर सुरु गरेको हुँदैन । कसैको पनि जीवन हामीले सोचेको र देखेको जस्तो सोझो रेखामा हुँदैन । हरेक मान्छे कथाका पात्र बन्न सक्छन् । हरेक मान्छेको जीवन उपन्यासको कथा पुग्ने कथा जस्तै हुन्छ । महाकाव्य बन्ने वृहत् कथा हुन्छ । त्यहाँ अनेक कविताका हरफ र श्लोक भेटिन्छन् । तिनका नाम र काममा कविताका विम्बै विम्ब हुन्छन् । तपाइलाई लागेका हरेक सोचाई लेख बन्न सक्छन् । तपाईँकै जीवनका हरेक घटना कथा बन्न सक्छन् । गुरु गुरुआमासँगका खटपटी पनि लेख बन्न सक्छन् । गुरुगुरुआमाका अभिप्रेरणा, साथ। सहयोग र माया पनि लेख बन्न सक्छन् । तपाई स्कुल आउँदा आउँदै बाटामा भेटिएकी माग्ने आमा लेखको विषय बन्न सक्छिन् । बाटामा भेटिएका सडक बालक विषय बन्न सक्छन् । बाटामा चुरोट उडाउँदै हिँड्ने मान्छे विषय बन्न सक्छन् । पाकेट मागेर भागिरहेका चोर विषय बन्न सक्छन् । तिनै चोरलाई समाएर हत्कडी लाएर डोर्याइरहेका प्रहरी विषय बन्न सक्छन् । दिनै पिच्छे छापिने पत्रिकाका समाचारमा लेख्ने विषयहरू भेटिन्छन् । टेलिभिजन र रेडियोमा बजिरहेका समाचारमा लेख्ने विषय भेटिन्छन् । आफ्नै बाआमाका मायामा विषय भेटिन्छन् । आफ्नै बाआमाका गालीमा विषय भेटिन्छन् । हजुरबा हजुरआमाका कथाव्यथामा, उहाँहरूका जीवनमा कविता भेटिन्छन् । आफ्नै गल्तीहरूमा कथा भेटिन्छन् । आफ्नै सफलता र असफलतामा कविता कथा भेटिन्छन् । आफूमै निबन्धका विषय भेटिन्छन् । विश्वप्रसिद्ध निबन्धकार मोन्तेनले भनेका थिए म नै मेरा निबन्धको विषय हुँ । विषय खोज्न टाढा जानै पर्दैन ।
म अघि भन्दैथिएँ, तपाईँहरू भाग्यमानी पुस्ता हुनुहुन्छ । तपाईँहरूले चाहनुभयो भने घरमै दैनिक पत्रपत्रिका पढ्न पाउनुहुन्छ । तपाईँले चाहँदा इमेल इन्टरनेटको प्रयोग गर्न सक्नुहुन्छ । हाम्रा पालामा यतिधेरै छनोट हुन सक्तैन थे । म एस. एल.सी दिएर बसेका बेला गाउँले दाइका घरबाट केही पुस्तक लगेर पढेको थिएँ । पाँचदिन भित्र दशौँ बाह्रौ किताब पढेको थिएँ । आज सम्झँदा मैले त्यसैबेला वी.पीका धेरै कथा पढेँछु । आज मलाई त्यतिबेला पढेको ज्ञानले एम. ए र एम एडका कक्षामा पढाउन सहयोग पुगेको छ । हामी विद्यालय तहका विद्यार्थी हुँदा हाम्रो विकल्प पढ्नुबाहेक केही थिएन । गाउँमा कुनै साथीभाइले एउटा उपन्यास लग्यो भने हामी पालैपालो गरेर एक एक रात लिन्थ्यौँ र पढ्थ्यौँ । एउटा सिङ्गो किताब एकै रातमा पढेर फिर्ता गथ्र्यौँ । हाम्रो ज्ञानको साधन पनि पुस्तक थियो । हाम्रो मनोरञ्जनको साधन पनि पुस्तक थियो । हाम्रो दुःखसुखको साथी पनि किताबै थियो । त्यै किताब पनि अभाव थियो । कम मात्र पाइन्थ्यो । पाइए पनि किन्ने हैसियत हुँदैन थियो । हामीले पढ्ने विद्यालयमा पुस्तकालय हुँदैन थियो । आज तपाईँको विद्यालयले अतिरिक्त साहित्यिक कृति पढ्न अभिप्रेरित गरिरहेको छ । विद्यालयभित्र भव्य पुस्तकालय छ । तपाईँहरूलाई पाठ्यपुस्तकका अतिरिक्त अन्य पुस्तक पढ्न अभिप्रेरित गरिरहेको छ । तपाईँका अभिभावकलाई भन्नुभयो भने सबै पत्रिका तपाईँको घरसम्म आउँछन् । ती पत्रिकाहरूले बालबालिकाका लागि अतिरिक्त अङ्क प्रकाशन गरिरहेका छन् । बालकेन्द्रित पाताहरू व्यवस्था गरेका छन् । मात्र तपाईँलाई पढ्ने जाँगर र लेख्ने जाँगरको खाँचो छ । हामी बालक हुँदा जस्तो कापी कलमको दुःख पनि छैन । छ त मात्र जाँगरको खाँचो छ ।
संसारमा हेर्यो भने जो व्यक्ति लेखक पनि थियो उही चर्चित बनेको देखिन्छ । हामी विश्वप्रसिद्ध व्यक्तिका भनाइ र लेखाइलाई उदाहरणका रुपमा लिन्छौँ । आफ्ना कुरा भन्ने अवसर सधै मिलिरहँदैन । लेख्ने अवसर सधै मिलिरहन्छ । तपाईँ देशको मन्त्री र प्रधानमन्त्री नै बन्नुभयो भने पनि तपाईँ मन्त्री प्रधानमन्त्री हुन्जेल मिडियाले पछ्याउँछन्, मञ्च दिन्छन् तर अवधि सिद्धिएपछि कसैले गन्दैनन् । तपाईँ मिडियाकर्मी नै हुनुभयो भने पनि मिडियाले त्यहाँ हुन्जेल मात्र महत्व दिन्छन् पछि बिर्सन थाल्छन् । म अलिकति शिक्षाको कुरा गरुँ नेपालको शैक्षिक इतिहासमा २०१४ सालमा लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री हुँदा देशमा विश्वविद्यालयको परिकल्पना गर्नुभएको थियो । हाम्रो त्रिभुवन विश्वविद्यालयको स्थापना उहाँको योजना र पहलमा स्थापना भएको विश्वविद्यालय हो । उहाँले त्यसबेला छुट्याएको विश्वविद्यालयको जमिन अब सय वर्ष पुग्न लाग्दा पनि भरिएको छैन । हामी भए पन्ध्र सोह्र रोपनी जमिन छुट्याउँथ्यौँ होला ? देवकोटाले सिङ्गै कीर्तिपुर विश्वविद्यालयलाई चाहिन्छ भन्ने सपना देखे । उनकै योजनामा ठाउँ ठाउँमा विद्यालय खुले । हामी अधिकांश पुराना विद्यालयको स्थापना मिति हेर्यौँ भने चौध, पन्ध्र र १६ साल देख्छौँ । त्यसको अर्थ हो देवकोटाको योजनाले विद्यालयहरूको स्थापना भयो । त्यसपछि देशमा कति शिक्षामन्त्री आए होला ? कति आए आए ? एकै चोटि ५० को दशकको आरम्भमा मोदनाथ प्रश्रित शिक्षामन्त्री भएपछि बहुविश्वविद्यालयको अवधारणा आयो । वार्ड वर्डमा विद्यालयको अवधारणा आयो । देवकोटा पनि लेखक प्रश्रित पनि लेखक । प्रश्रितको शिक्षा योजनाअनुसार त्यसपछिको शिक्षा योजना अगाडि बढ्यो । बिचमा जोसुकै आए पनि न उनका नाम थाहा भयो न केही नयाँ काम भयो । हामीले वी.पी कोइरालाका विचारहरू उनकै कलमबाट लेखिएकाले उनलाई बढी आदर गर्यौँ । पुष्पलाल श्रेष्ठका विचारहरू उनकै कलमले लेखिएकाले उनलाई बढी आदर गर्यौँ नलेख्ने नेताहरू अवसर पाउन्जेल बोल्छन् । उनका बोली हावामा उडेर जान्छन् । उनका बोलेका विचारलाई लिएर हामी केही पनि सन्दर्भन गर्दैनौँ । लेखेका कुरा भए दोहोर्याएर पढ्छौँ र उनीहरूलाई सम्झन्छौँ उनीहरूका विचारका अनुशरण गर्छौँ । आज म दुई सय पाँच वर्षअगाडि जन्मिएका भानुभक्तको जन्मजयन्तीको सन्दर्भ पारेर बोलिरहेको छु । लेखेर राख्न सके त्यसको चर्चा हुने दिन एक दिन आउँछ नै । तपाईँले लेख्नुभयो भने दुई सय पाँच वर्षपछिका बालबालिकाले आज तपाईँले जसरी नै तपाईँका रचना गाउँछन् ।
होला भविष्यमा तपाईँ डक्टर बन्नुहोला, इन्जिनियर बन्नुहोला, पाइलट बन्नुहोला, वकिल बन्नुहोला, बैङ्कर बन्नुहोला, उद्योगपति बन्नुहोला, राजदूत बन्नुहोला, नेता मन्त्री, राष्ट्रपति बन्नुहोला, तपाईँमध्ये जो लेखक + डक्टर बन्नुभयो तपाईँ सफल हामी डा. भोला रिजाललाई अरु डाक्टरभन्दा बढी चिन्छौँ । त्यस्तै इन्जिनियर बन्नुभयो भने लेखक + इन्जिनियर, वकिल बन्नुभयो भने लेखक+ वकिल, पाइलट बन्नुभयो भने लेखक+ पाइलट, बैङ्कर बन्नुभयो भने लेखक+ बै्ङ्कर, उद्योगपति बन्नुभयो भने लेखक + उद्योगपति वा व्यापारी, नेता बन्नुभयो भने लेखक + नेता बन्नुभयो भने तपाईँ बढी सफल बन्नुहुन्छ । म सामान्य मान्छे हुँ तर आज तपाईँहरूलाई केही कुरा सुनाउन सक्ने भएको छु । मैले नर्सरी शिशुकक्षादेखि स्नातक तहसम्मका पाठ्यपुस्तक लेखेको छु । कक्षामा जाँदा विद्यार्थीहरूले गौरव गर्छन् लेखक + प्राध्यापकलाई पाएर । म कविता लेख्छु, काव्य लेख्छु, निबन्ध लेख्छु, समालोचना लेख्छु । केही कुरा चित्त बुझेन भने पनि लेख्छु, चित्त बुझ्यो भने पनि लेख्छु। सुखी लाग्यो भने पनि लेख्छु दुःख लाग्यो भने पनि लेख्छु । म लेखक भएकैले मेरो पेसा र जीवनमा असफल नै बनेको छैन । तपाईँ पनि लेख्नुहोस् । आफूले दिनभरि गरेका कामको डायरी मात्र लेखे पनि तपाईँ लेखक बन्न सक्नुहुन्छ । आफ्नै हजुरबा हजुरआमाको जीवनी लेखेर उहाँहरूकै कुरा लेखेर पनि लेखक बन्न सक्नुहुन्छ । आजका प्रमुखअतिथि भुवनहरि सिग्देलले आमोइ भन्ने उपन्यास लेख्नु भएको छ । उहाँकै आमैको कथा हो त्यो कृति । आजका विशेषअतिथि पुरुषोत्तम सिग्देलले आफ्नै आमा र सानीमालाई विषय बनाएर आमा महाकाव्य रचना गर्नुभएको छ । माधव घिमिरेले आफ्नै पत्नी गौरीका विषयमा लेखेर चर्चामा रहनुभयो । यस्ता उदाहरण धेरै छन् । मेरो दोस्रो पुस्तक मेरै हजुरबाको शोककाव्य थियो । लेख्नेलाई केहीले पनि छेक्दैन । भारतीय लेखिका कमला साङ्कृतयायनले आफ्नै पति राहुल सा.ङ्कृत्यायनका बारे चारवटा कृति लेख्नुभयो ।
तपाईँ लेखेर आफ्नो जीवन सफल बनाउने मात्र होइन देशको सान विश्वमा पुर्याउन सक्नुहुन्छ । रवीन्द्रनाथ ठाकुरले नोवल पुरस्कार पाउँदा भारतको गौरवको विषय बन्यो । झन्डै तीन सय (२५६ मेरो सूचना) नोवल पुरस्कार अमेरिकी नागरिकले मात्र पाए र त्यसको बौद्धिक प्रभाव विश्वलाई पर्यो । त्यसपछि जर्मनी र वेलायतले त्यो पुरस्कार प्राप्त गरी विश्वलाई प्रभावित तुल्याए । यसको असर लेखनसँग जोडिएको छ । साहित्येत्तरका पुरस्कार पनि सम्बन्धित विषयका विशिष्ट लेखकले पाएका छन् । म अघि लेखनका विषय जतासुकै छन् भन्दै थिएँ । बेलायती नागरिक ह्यारोल्ड पिन्टरले जेलका यातनालाई विषय बनाएर लेखेका कृतिका लागि नोवल पुरस्कार पाएका थिए । तुर्किस लेखक ओरान पामुकले आफ्नो सहरका डिप्रेसनका समस्यालाई विषय बनाएर लेखेर नोवल पुरस्कार पाएका थिए । रुसी लेखक लिओनिदोविच पास्तेर्नाकले आफ्नै देशका समस्या लेखेर नोवल पुरस्कार पाएका थिए । राज्यले उनको कृतिको विरोध गरिदिँदा उनले पुरस्कारकै अस्वीकार गरी चर्चा बटुलेका थिए । कतै तपाईँ पनि यस देशका समस्या देखेर नोवल पुरस्कार पाउने व्यक्ति बन्नुहुन्छ कि ? आइसल्यान्डिक नागरिक हाल्दोर किल्जन ल्याक्ससेनले आफ्नै देशका रीतिरिवाज, संस्कृति, परम्परा र साधारण नागरिकको वर्णन गरेका लेखबट नोवेल पुरस्कार जिते । त्यसरी लेख्ने हो भने तपाईँका देशमा जति रीतिरिवाज अरु कुन् देशमा होलान् । यस देशमा १०३ वटा त भाषा नै बोलिन्छन् । आज तपाईँहरू फरक फरक जातिका पोषाकमा उपस्थित हुनुहुन्छ । यी जातिका बारेमा लेखे पनि त पुग्ने रहेछ नि । तपाईँहरूले सुन्नुभएको छ विस्टन लिओनार्ड स्पेन्सर चर्चिलको नाम । उनी द्वितीय विश्वयुद्धताका बेलायतका प्रधानमन्त्री थिए । उनले त्यही युद्धलाई विषयवस्तु बनाएर छ खण्डमा युद्धको संस्मरण लेखेका छन् । त्यस कृतिलाई दोस्रो विश्वयुद्धको आधिकारिक इतिहास पनि मानिन्छ । त्यस कृतिलाई साहित्य पनि मानिन्छ । त्यही एउटा कृतिलाई राजनीतिको महत्वपूर्ण ग्रन्थ पनि मानिन्छ । उनले त्यसै कृतिका लागि नोवेल पुरस्कार पाए १९५३ मा । उनी नेता मात्र भएका भए कहाँ वेस्टन चर्चिल भनेर चिनिन्थे र लेखक + नेता भएर चिनिएका । चिलीयन नागरिक ग्याब्रिला मिस्त्रालले आफ्नै पछौटे समाजका दलित शोषित महिला र बालबालिकाका विषयमा लेखेर आफूलाई विश्वप्रसिद्ध लेखिका बनाइन् । उनले १९४५ को नोवल पुरस्कार हात पारिन् । यस्ता उदाहरण विश्वमा अनेक छन् ।
टाढाको कुरा नगरुँ । हाम्रै नेपाली लेखकहरूमा जगदीश घिमिरेले आफ्नै जीवनकथा लेखेर मनद पुरसकार पाए । आफ्नै कथा पनि त लेखनको विषय बन्दो रहेछ नि । विजयकुमारले आफ्नै जीवन लेखेर खुसी कृतिका लागि मदन पुरस्कार पाए । झमककुमारीले आफ्नै कथा लेखेर मदन पुरस्कार पाइन् । यस्ता उदाहरण अनेक छन् । मैले लेख्ने पनि मेरै जीवनका दुःखसुख हुन् । मेरै समाजका समस्याहरू हुन् । मेरै परिवेशका समस्याहरू हुन् । यसबारेमा म अरु बढी नबोलूँ । मलाई निश्चित समय तोकिएको छ । म समयको सम्मान गर्छु । यहाँ शिक्षक विद्यार्थी र पत्रकार मात्र होइन अभिभावक पनि उपस्थित हुनुहुन्छ । यहाँहरूलाई विनम्र आग्रह छ ः आफ्ना सन्ततिलाई लेखनबाट अमर बाटो लिन अभिप्रेरिच गर्नुहोस् । यहाँ शिक्षक साथीहरू हुनुहुन्छ विशेष भाषा शिक्षक नेपाली र अंग्रेजीका शिक्षक हुनुहुन्छ । यहाँ संस्कृत पनि पढाइ हुन्छ । संस्कृतका शिक्षक र तपाईँ भाषाशिक्षकले बालबालिकालाई लेखनमा अभिप्रेरित गरिदिनुहोस् । अरु शिक्षक साथीले विषयवस्तु दिनुहुन्छ तपाईँहरू भाषा शिक्षणसँगै भाषिक कला पनि सिकाउनुहोस् । म धेरै विद्यालयमा निर्णायक बनेर पुगिरहेको हुन्छु । त्यस्ता प्रतियोगितामा लेखक शिक्षक भएका विद्यालयका बालबालिका पुरस्कृत बनिराखेका हुन्छन् । तपाईँ शिक्षक साथीहरूको सानो प्रेरणाले बालबालिकाको जीवनमा परिवर्तन आउँछ । त्यो परिवर्तन गर्नुहोस् । शिक्षण पेसा मात्र होइन जिम्मेवार पेसा हो । शिक्षण पेसा होइन सेवा हो ।
मेरो सन्दर्भमा कुरा गर्दा मेरो पहिलो कविता तीन कक्षामा पढ्दैगर्दा पाठ्यपुस्तककै एउटा कविता पठनका क्रममा फुरेको थियो । आठ कक्षामा पढ्दा पाठ्यपुस्तकमा पढेको चरीको विलाप कविताले छन्दमा कविता लेख्न अभिप्रेरित गरेको थियो तर मलाई सिकाउने र मार्गदर्शन गर्ने गुरुको अभाव थियो । आज तपाईँहरूले दक्ष गुरु गुरुआमा पाउनु भएको छ । मास्टर एमफिल जस्ता उच्च शिक्षा लिएका गुरु गुरुआमा पाउनुभएको छ । कवि लेखक गुरु गुरुआमा पाउनु भएको छ । आज मैले टङ्क चौलागाईँ सरलाई देखिनँ उहाँ । जस्तो नाट्यकर्मी गुरु पाउनु भएको छ । निरज सर जस्ता सङ्गीतकार सरहरू पाउनु भएको छ । तपाईँलाई छन्द कविता सिकाउन सक्ने गीता गुरुआमा, धना गुरुआमा, विष्णु गुरुआमा, रजनी गुरुआमा जस्ता गुरुवर्ग पाउनुभएको छ । यसरी विशेषज्ञहरूलाई उपस्थित गराएर विचार सुन्ने अवसर पाउनुभएको छ । तपाईंले चाहनुभयो भने नेपाललाई नोवल पुरस्कार दिलाउन सक्नुहुन्छ । तपाईँहरूलाई मेरातर्फबाट पनि शुभकामना छ । विद्यालयको थप उन्नति देख्न पाऊँ । धन्यवाद ।

