प्रहरी समायोजन – प्रदेश प्रमुखमा ‘प्रहरी नायब महानिरीक्षक’

असार २५, काठमाडौँ । नेपाल प्रहरीको प्रदेश प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) रहनुहुने भएको छ । प्रहरी समायोजन भएर जाँदा प्रदेश प्रहरी प्रमुखमा डिआइजी राख्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यबीच यस्तो सहमति जुटेको हो । प्रदेश प्रमुखको पदको नाम भने निक्र्योल भइसकेको छैन ।

‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिमा छलफल जारी छ । संसद्मा दर्ता भएको उक्त विधेकको दफा ३ को उपदफा ५ मा दरबन्दी सिफारिस गर्दा प्रदेश प्रहरीको पदमा कायम हुने नेपाल प्रहरीको दरबन्दी र पदसमेत यकिन गरी नेपाल प्रहरीको पद प्रमुख हुने प्रदेश प्रहरी कार्यालयमा सङ्घीय कानूनबमोजिम अपराध अनुसन्धान गर्ने प्रयोजनका लागि आवश्यक सङ्ख्यामा नेपाल प्रहरीको दरबन्दी रहने गरी सिफारिस गर्नुपर्ने उल्लेख छ । उक्त बुँदामा प्रदेश प्रमुखको पदमा कुन तहको हुने भन्ने किटान गरिएको थिएन । संसद्मा दर्ता भएको विधेयकको उक्त बुँदा परिमार्जन गरी पद किटान गरिएको हो ।

समितिमा प्रदेश प्रमुख भएर जाने एआइजीले प्रदेश प्रहरीकै पोसाक र दज्र्यानी चिह्न लगाउनेमा समेत सहमति जुटेको छ । प्रदेश प्रहरी प्रमुखहरु प्रहरी महानिरीक्षक बन्ने बाटो भने खुला राखिएको छ । प्रदेश प्रहरी प्रमुखलाई सङ्घीय सरकारले सरुवा गर्न सक्ने व्यवस्था गरिएको छ । प्रदेश प्रहरीको सेवासुविधा नेपाल प्रहरी (सङ्घीय सरकार मातहत रहने प्रहरी) को भन्दा कम हुने छैन तर अन्यको हकमा सेवा, सुविधा, पोसाक, दज्र्यानी चिह्न प्रदेश प्रहरी कानूनअनुसार हुने विषयमा समेत सहमति जुटेको छ ।

प्रदेशमा जाने वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी)लाई सङ्घबाट खटाउने कि प्रदेशबाट खटाउने भने विषयमा फरक मत देखिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले नीतिगत कुरामा समितिका सदस्य र सरकारबीच एसएसपी र एसपीका बारेमा फरक मत देखिएकाले नीतिगत रुपमै छलफल गर्नुपर्ने आवश्यकता देखिएकाले अर्को बैठकमा छलफल हुने जानकारी दिनुभयो । उहाँले प्रदेश प्रहरी अन्तर्गतको कार्यालयमा एसएसपी र एसपीको पदमा समायोजनका क्रममा नेपाल प्रहरीले खटाउने छ भनेर राख्दा सबैको भावना समेटिने देखिएको जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.