असार १८, काठमाडाैँ । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको पहिलो खेलमा नेपालले चीनविरुद्ध सहज जीत हासिल गरेको छ ।
क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको हो । चीनले प्रस्तुत गरेको ५३ रनको लक्ष्य नेपालले ५ ओभरमा पुरा गरेको थियो । नेपालका लागि पवन सराफले २१ बलमा नट आउट ४६ रन बनाए । त्यसैगरी रित गौतमले दस रन बनाए ।
यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालको अघि चिनियाँ खेलाडीहरु निरिह देखिए । २३ ओभर १ बलमा चीन ५३ रनमा अल आउट भएको थियो । सागर ढकालले १९ रन खर्चेर ६ विकेट लिएका थिए । त्यसैगरी तिलकराज भण्डारीले ३ र कमलसिंह ऐरीले १ विकेट लिए ।
जारी खेलमा नेपालले समूह ‘ए’ बाट खेलिरहेकाे छ । यस समूहमा नेपाल, सिंगापुर र चीन रहेका छन । समूह ए मै रहेको म्यानमारले भने अन्तिम समयमा नाम फिर्ता लिएपछि ३ टिम मात्रै बाँकी रहेका हुन । समूह ‘बी’ मा भने मलेसिया, भुटान, हङकङ र थाइल्याण्ड रहेका छन ।
नेपालकाे याे सुखद सुरुतआत सँगै उपाधि जित्न सक्ने आशा बलियाे बनेकाे छ । नेपाल साविककाे उपाधिविजेता पनि हाे । गत संस्करणमा हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो ।

