राजनीतिमा सफाइ जरुरी – सभामुख महरा

असार १४, भक्तपुर । सभामुख कृष्णबहादुर महराले राजनीतिमा सफाइ जरुरी रहेको बताएका छन् । हनुमन्ते सफाइ अभियानको ७०औँ हप्ताको अवसरमा सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आज आयोजना गरिएको राष्ट्रिय वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले भने, “सडक र नदीमात्रै सफाइ गरेर हुदैन, देशको राजनीतिमा पनि प्रदूषण छ, यसैले राजनीतिक सफाइ जरुरी छ ।”

देशमा माफिया सक्रिय रहेकामा चिन्ता व्यक्त गर्दै उनले भने,“अहिले देशमा माफियाहरु सक्रिय छन्, यस्ता माफियाले देशै हडप्न खोजेका छन् ।” व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान सञ्चालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी तीन वर्षभित्र देशकै नमूना जिल्ला बनाउने दाबी गर्दै तीन वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताए । आकाशे पानी सङ्कलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिकामुक्त जिल्ला बनाउने, जाममुक्त, उज्यालो भक्तपुर बनाउने उनको भनाइ थियो । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.